असार भित्र मोर्चा संगठनहरु विस्तार गर्न एमाले मकवानपुरको निर्देशन

तु खबर संवाददाता
२०७८ असार २३, बुधबार १८:३६

मकवानपुर । नेकपा एमाले मकवानपुरले आफ्नो मोर्चा संगठनलाई असार महिनाभित्र जिल्ला कमिटि, गाँउ तथा घटक संगठनहरु विस्तार गर्न निर्देशन दिएको छ ।

बुधबार नेकपा एमाले मकवानपुरको पार्टी कार्यलयमा भएको मोर्चा संगठनको संयोजक, सहसंयोजक तथा सचिवहरुको संयुक्त बैठकमा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले असारको अन्तिम भित्र सबै मोर्चा संगठनको जिल्ला समिति विस्तार गरिसक्न निर्देशन दिएका हुन् ।

नेकपा एमालेलाई चलायमान राख्नको लागि मोर्चा संगठनको प्रमुख भूमिका हुने भन्दै अध्यक्ष श्रेष्ठले कुनैपनि विषयमा अन्योलन नपर्न समेत मोर्चा संगठनको नेतृत्वलाई सुझाव दिएका छन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली नेतृतवको एमालेनै मुलधार रहेको भन्दै अध्यक्ष श्रेष्ठले मोर्चा संगठनको जिम्मेवारी बहन गर्न निर्देश गरेका हुन् ।

कोरोना महामारी तथा प्राकृतिक विपत्तीको समयमा मोर्चा संगठनले महत्वपूर्ण जिम्मेवारीको साथ काम गरिरहेको उल्लेख गर्दै उनले मकवानपुरमा क्रियाशिल करिब दुई दर्जन मोर्चा संगठन असार भित्रै विस्तार भई चलाएमान गराउन निर्देशन दिएका छन् ।

एमाले सरकारले गरेको विकासको कामको प्रचार गर्ने, समाजमा भएका विकृतिलाई न्यूनिकरण गर्ने अभियान सञ्चालन गर्दै पार्टीलाई थप उचाईमा पुर्याउन मोर्चा संगठनहरुको महत्वपूर्ण भूमिका हुने भन्दै उनले मोर्चा संगठन चलायमान रहे पार्टी थप बलियो हुने बताए ।

बैठकमा बोल्दै प्रमुख अतिथि समेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाले पार्टीको केन्द्रमा देखिएको विवादको कारण जिल्लामा मोर्चा संगठनहरु अन्यौलमा पर्नु नपर्ने बताए । जिल्लाका मोर्चा संगठनहरुले निर्धक्क भएर कमिटि विस्तारको अभियान सञ्चालन गर्दै आफ्ना गतिविधिलाई निरन्तरता दिन समेत उनले निर्देशन दिएका थिए ।

एमाले मकवानपुरका सचिव लालबहादुर थापाले सहजीकरण गरेको उक्त बैठकमा अनेरास्ववियु, युवा संघ, अनेमसंघ,खेलकुद महासंघ, मुस्लिम, जनजाती, जनसास्कृतिक महासंघ, कानुन ब्यवसायी, ब्यापार संघ सहितका एमालेका मोर्चा संगठनका नेताहरुको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*