एमाले मकवानपुरको नवनिर्वाचित कमिटीद्वारा शपथ ग्रहण

तु खबर संवाददाता
२०८१ जेष्ठ २८,सोमबार १८:००

मकवानपुर । नेकपा एमाले मकवानपुरको नवनिर्वाचित कमिटीका पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सोमबार हेटौंडामा आयोजित एक कार्यक्रममा उनीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । उनीहरुलाई पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले शपथ ग्रहण गराएका हुन् ।

सो क्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको पक्षमा आफ्नो पार्टी अडिग रहने स्पष्ट पारे । उनले एमाले बाहेक अरु कुनै पनि राजनीतिक दलले राष्ट्रको भौगोलिक अखण्डताको रक्षा गर्न नसक्ने दाबी गरे ।

राष्ट्रिय स्वतन्त्रता र सामाजिक सद्भावलाई जोगाई राख्न राजनीतिक स्थिरता आवश्यक रहेको भन्दै उनले पार्टीका नेता, कार्यकर्ता एवम् भातृ संगठ र शुभेच्छुक संस्थाहरुलाई मिलेर अगाडि बढ्न आग्रह गरे ।

एमाले मकवानपुरको एक साताअघि हेटौंडामा १२ औं अधिवेशन सम्पन्न भएको थियो । उक्त अधिवेशनबाट अध्यक्षमा श्रीधर पोख्रेल, उपाध्यक्षमा हिदम लामा, सचिवमा सीता विष्ट, उपसचिवमा फुर्वा दोर्जे लामा र आरती पाठक लगायतका सदस्यहरु निर्वाचित भएका छन् । उनीहरुहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

शपथ कार्यक्रममा नेकपा एमालेका केन्द्रीय नेताहरु मुकुन्द न्यौपाने, केदार न्यौपाने, देवि ज्ञवाली, डोरमणि पौडेल, रामेश्वर राना लगायतको आतिथ्यता रहेको थियो ।