जसपाको दुबै पक्षले दल दर्ताको दावी गर्ने
काठमाडौं । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा दल दर्ताको लागि छुट्टाछुट्टै दावी गर्ने भएका छन् ।
मंगलबार आयोगमा दुबै पक्षबीच छलफल भएकोमा सहमति जुट्न नसकेपछि आयोगले दल दर्ताको लागि दुबै पक्षलाई दावी पेश गर्न आग्रह गरेको हो ।
आयोगले सहमतिका लागि जसपाका दुबै पक्षलाई आयोगमा बोलाएर छलफल गरेको थियो । तर, दुबै पक्षले आफ्नो दावी नछाडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको छ ।
पार्टीमा विवाद बढेपछि अध्यक्ष ठाकुरले कार्यकारिणी समितिबाट यादव पक्षका २० जनालाई हटाएर आफूपक्षीय २० जना थपेका थिए ।
सो कार्यकारिणी समितिलाई निर्वाचन आयोगले भने मान्यता दिएको छैन । तर, पुनर्गठित कार्यकारिणी समितिका सदस्य अकवाल मियाले भने हेरफेर गरिएको कार्यकारिणी समितिलाई मान्यता दिए–नदिएको जानकारी निर्वाचन आयोगले नदिएको दावी गरे ।
