जसपाको दुई पक्षबीच निर्वाचन आयोगमा छलफल जारी
काठमाडौं । जनता समाजवादी पार्टी जसपाको विवाद समाधानको लागि निर्वाचन आयोगमा छलफल जारी छ । जसपाको अध्यक्ष द्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षका नेताहरु छलफलमा सहभागि भएका छन् ।
बैठकमा महन्थ ठाकुर पक्षबाट महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, उमाशंकर अरगरिया, सुरेन्द्र झा लगायतका नेताहरू सहभागी भएका हुन् ।
यस्तै उपेन्द्र यादव पक्षबाट नेता यादव सहित मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी छन् ।
पार्टीमा विवाद बढेपछि अध्यक्ष ठाकुरले कार्यकारिणी समितिबाट यादव पक्षका २० जनालाई हटाएर आफूपक्षीय २० जना थपेका थिए ।
सो कार्यकारिणी समितिलाई निर्वाचन आयोगले भने मान्यता दिएको छैन । तर, पुनर्गठित कार्यकारिणी समितिका सदस्य अकवाल मियाले भने हेरफेर गरिएको कार्यकारिणी समितिलाई मान्यता दिए–नदिएको जानकारी निर्वाचन आयोगले नदिएको दावी गरे ।
विवाद बढ्दै जाँदा पार्टीको अधिकारिताका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवले आयोगमा निवेदन दिएपछि आज छलफलका लागि दुवै पक्षलाई बोलाइएको हो ।
