बागमतीको बजेट हेटौँडा र काठमाडौं केन्द्रीत गरेर ल्यायोः सांसद सिमखडा
मकवानपुर । बागमती प्रदेशसभा सदस्य जगतबहादुर सिमखडाले प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट हेटौडा र काठमाडौं केन्द्रीत गरेर ल्याएको बताएका छन् ।
शुक्रबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्दै सांसद् सिम्खडाले सरकारको आगामी आवको बजेट जनताको पक्षमा नभई हेटौंडा र काठमाडौं केन्द्रीत गरेर ल्याएको बताएका हुन् ।
प्रदेश सरकारले प्रस्तुत गरेको बजेट मन्त्री र कार्यकर्ता केन्द्रीत भएको भन्दै गरिब जनताको पक्षमा नभएको उनको भनाई छ ।
प्रदेशको विकट पालिकाका जनताले बजेटमा प्रदेश सरकारको अनुभव गर्न नपाएको उनको भनाई छ ।
प्रदेश सरकारले बजेट ल्याउँदा कोरोना नियन्त्रण, खोप र राहतलाई केन्द्रीत गर्नुपर्ने भए पनि त्यसो हुन नसकेकाले सरकार जनताप्रति उत्तरदायी नभएको उल्लेख गरे ।
प्रदेश सरकारले हेटौंडाको कपडा उद्योग, काठमाडौंको बाँसबारी छाला उद्योग, भृकुटी कागज कारखाना सञ्चालनका लागि बजेट व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।
प्रदेश सरकारको बजेट रोजगारी र उत्पादनतर्फ नभई बिचौलिया पोस्ने प्रकृतिको भएको भन्दै बजेटमा रुबी भ्याली, गंगाजमुना जस्ता विकट पालिकालाई बेवास्ता गरिएकोमा उनले चिन्ता व्यक्त गरे ।
