प्रतिष्ठान गठन गरी शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न सफलः मुख्यमन्त्री पौडेल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशमा नै पहिलो पटक प्रतिष्ठानको रुपमा मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरी शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न सफल भएको बताएका छन् ।
आज मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै प्रतिष्ठाका कुलपति समेत रहेका मुख्यमन्त्री पौडेलले संघीय सरकारको सात वटै प्रदेशमा एउटा प्रतिष्ठान स्थापनाको अवधारण अनुरुप उक्त प्रतिष्ठान गठन गरी शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न सफल भएको बताएका हुन् ।
मुख्यमन्त्री पौडेलले प्रदेशको न्युन स्तरको स्वास्थ्य अवस्था सुधार्ने योजनाका साथ फरक प्रकारको स्वास्थ्य सेवा, शैक्षिक गतिविधि र अनुसन्धानलाई प्राथमिकतामा राखेर प्रतिष्ठान गठन गरी कार्यान्वयनमा ल्याइएको बताए ।
प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा उक्त प्रतिष्ठानको काम अघि बढाएको उनले बताए ।
हेटौंडामा प्रदेश राजधानी भएर के भयो भन्नेहरुको लागि प्रतिष्ठानको सफलता गतिलो जवाफ भएको उनले बताए ।
प्रतिष्ठान मातहत आए लगत्तै हेटौंडा अस्पतालको स्वास्थ्य सेवाको गुणस्तरीयतामा धेरै फरक आएको भन्दै आगामी दिनमा प्रदेश सरकार मातहताका सबै अस्पतालका सेवालाई गुण स्तरीय बनाउँदै लैजाने योजना रहेको स्पष्ट पारे ।
उनले प्रदेशका जनताको स्वास्थ्य प्रति प्रदेश सरकार गम्भीर रहेको बताउँदै अस्पतालको सेवा, सुविधा विस्तार र गुणस्तरीयतालाई क्रमशः सुधार गर्दै लैजाने बताए ।
साथै उनले आगामी वर्ष २०७८÷०७९ मा नै प्रतिष्ठान मार्फत् एमबीबीएसको अध्ययनको सुरुवात गर्ने लक्ष्यसहित तयारी अगाडि बढाएको बताए ।
