सिन्धुपाल्चोलमा बाढीले ठूलो धनजनको क्षति पुर्याएकोप्रति कांग्रेस बागमतीद्वारा दुःख व्यक्त

तु खबर संवाददाता
२०७८ असार २, बुधबार १६:२०

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले असार १ गते परेको अविरल वर्षाका कारण प्रदेश अन्तरगत पर्ने सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र ईन्द्रावती खोलामा आएको भिषण बाढीले ठूलो धनजनको क्षति तथा ५० जनाभन्दा बढी व्यक्ति सम्पर्कबिहिन भएकोप्रति दुःख व्यक्त गरेको छ ।

प्रदेश संसदीय दलका सचिव निमा लामाले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त भिषण बाढीले जिल्लाको तिम्बु बजार, तालामाराङ बजार, मेलम्ची बजार, चनौटे बजारलगायतका स्थानहरुमा क्षति पुर्याएको र ५० जनाभन्दा बढी व्यक्ति बेपत्ता भएकोप्रति दुःख व्यक्त गरेकी हुन् ।

जारी विज्ञप्तिमा ‘विपद्को यस घडीमा यथाशिघ्र उद्धारको काम अघि बढाई बाढीपहिरो प्रभावित त्यस भेगका जनतालाई अस्थायी बास र राहत तत्काल उपलब्ध गराउन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छ’ उल्लेख छ ।

कांग्रेसले बाढी पहिरोको कारण सिर्जित विषम परिस्थितिलाई मध्यनजर गर्दै यथाशीघ्र धनजनको सुरक्षामा परिचालन हुन प्रदेश सरकारलाई आग्रह समेत गरेको छ ।

साथै विज्ञप्तिमा भनिएको छ, ‘बाढी प्रभावित त्यस क्षेत्रका जनतालाई अस्थायी बास र राहातको काम तत्काल अघि बढाउन मागसमेत गर्दछ । राहात र उद्धारका लागि स्थानीय प्रशासनको समन्वयमा परिचालित हुन नेपाली कांग्रेसका त्यस भेगका नेता, कार्यकर्ताहरुलाई संसदीय दल अनुरोधसहित आग्रह गर्दछ ।’

‘प्रदेशभर हुन सक्ने सम्भावित विपदको पूर्व तयारी गर्न प्रदेश सरकार र मातहतका निकायलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल अपिल गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*