कांग्रेसद्वारा थप ३३ जिल्लाका क्रियाशील सदस्यताको नामावली सार्वजनिक
काठमाडौं । नेपाली कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छ ।
कांग्रेसले थप ३३ जिल्लाका ६५ वटा स्थानको नामावली पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको हो ।
यसअघि १०१ स्थानको नामावली सार्वजनिक गरेको कांग्रेसले ७ जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजिक गर्न बाँकी छ ।
छानविन समितिका सदस्य योगेन्द्र चौधरीका अनुसार सप्तरी, बारा, सिन्धुपाल्चोक, प्यूठान, बर्दिया, रुकुम पश्चिम र डडेलधुराबाट सदस्यता नामावली आउन बाँकी रहेको हो ।
ती जिल्लामा आन्तरिक समायोजन, शुल्क विवाद लगायतका समस्याका कारण काम हुन नसकेको कांग्रेसका एक नेताले बतायो ।
हालसम्म सार्वजनिक गरिएका नामावली उपर कुनै उजुरी, गुनासा वा सुझाव भएमा सम्बन्धित पार्टी निकाय वा व्यक्तिले आगामी असार ६ गतेभित्र प्रमाणसहित केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिमा सम्पर्क गर्न सकिने समितिका सचिव केशव रिजालले जानकारी दिए ।
कांग्रेसको चौधौं महाधिवेशन आगामी भदौ १६ गतेबाट सुरु हुँदैछ । क्रियाशील सदस्यताको विवाद मिलाउन नसकेपछि कांग्रेसले महाधिवेशनको मिति ९ दिन पछि सार्ने निर्णय गरेको छ ।
