प्रदेश सरकारले आफ्नो क्षमता अनुसार नीति तथा कार्यक्रम तयार गरेको छ–मुख्यमन्त्री पौडेल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले आफ्नो क्षमता अनुसार आगामी वर्ष २०७८/७९ को लागि नीति तथा कार्यक्रम तयार गरेको बताएका छन् ।
मुख्यमन्त्री पौडेलले शनिबार भएको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममाथि भएको छलफलमा जवाफ दिँदै प्रदेश सरकारले विगतमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमलदाई आधार मानेर आगामी आवको नीति तथा कार्यक्रम तय गर्ने भएकाले प्रदेश सरकारले आफ्नो क्षमता अनुसारको नीति तथा कार्यक्रम तयार गरेको बताएका हुन् ।
उनले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको एक–एक बुँदालाई कार्यान्वयनका लागि बजेटमा प्राथमिकताका साथ समावेश गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रदेश सरकारले कोरोना विरुद्धको खोप उपलब्ध गराउनका लागि सम्बन्धीत संस्थाहरुसँग छलफल भइरहेकाले खोपको सुनिश्चितताका लागि सक्रिय रहेको र संघीय सरकारले अनुमती दिने वित्तीकै प्रदेश सरकारले खोप खरिदको कामलाई अगाडी बढाउने उनको भनाई छ ।
प्रदेश सरकारले समाजवाद उन्मुख नीति तथा कार्यक्रम तय गरेको र प्रतिपक्ष दलहरुको पनि एजेण्डा समाजवाद ल्याउने भएकाले प्रस्तुत विषयमा कार्यान्वयन तहको प्रस्तुतीबारे छलफल आवश्यक रहेको उनले उल्लेख गरे ।
मुख्यमन्त्री पौडेलले नीति तथा कार्यक्रममाथि प्रतिपक्ष दलहरुले दिएका सुझाव ग्रहण गरी सरकारको क्षमता र आवश्यकताका आधारमा बजेटमा समावेश गरी कार्यान्वयन गर्ने बताए ।
उनले सरकारले कोरोना नियन्त्रण, उपचार र आर्थिक सहायताका कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारेकाले प्रदेश सरकार प्रदेशवासीहरुप्रति प्रतिवद्ध रहेको दृढता व्यक्त गरे ।
‘सुरुङ मार्ग निर्माणका लागि कुल लागत १८ अर्र्ब भनिए पनि हाल १६ अर्बमा सम्पन्न हुने देखिएको छ । त्यसका लागि संघीय सरकारको सह लगानीमा प्रदेश सरकारले बनाउने हो भने प्रदेश सरकारले ८ अर्व लागत व्यहोर्नुपर्छ । जुन ४ वर्षमा सम्पन्न हुँदा वार्षिक २ अर्ब बजेट विनियोजन हुनुे अवस्था रहेको छ ।’ मुख्यमन्त्री पौडेलले भने ।
प्रदेश सरकारले संचालानमा ल्याउने तयारी गरेको विद्युतीय बसको आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको र सोही अनुसार सडक पूर्वाधारको काम पनि जारी रहेकोले प्रदेश सरकारले विद्युतीय बस खरिदका लागि ग्लोबल टेण्डर आह्वान गरेको उनको भनाई छ ।
