हेटौँडालाई कुन मापदण्डमा लैजाने ? –मुनु सिग्देल
मकवानपुर । बागमती प्रदेशसभा सदस्य एवम् तत्कालिन नेकपा एमालेकी अध्यक्ष मुनु सिग्देलले बागमती प्रदेशको राजधानी हेटौँडालाई कुन मापदण्डमा लैजाने हो भन्ने किटान गर्न प्रदेश सरकारलाई प्रश्न गरेकी छन् । शुक्रबार नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको प्रदेशसभा बैठकमा नेतृ सिग्देलले प्रदेश सरकालाई प्रश्न गरेकी हुन् ।
नेतृ सिग्देलले भनिन्, ‘हेटौँडा सहरलाई मानववस्ती भनेर न नगरको मापदण्डमा लान सकेउ, न पूर्व–पश्चिम राजमार्गमा नै । हेटौँडा शहर दिनप्रतिदिन साँघुरो र जोखिम हुँदै गएको छ । त्यस कारण प्रदेशको राजधानी कुन मापदण्डमा लैजाने हो, हामी किटान गरौं र त्यही अनुसार, योजना निर्माण गर्नलाई अगाडि बढौं ।’
उनले पब्लिक क्याम्पसमा अनुदान दिने व्यस्था, क्याम्पसमा सेनिटरी प्याडको व्यवस्था, विपन्न वर्गको नागरिकहरुलाई उच्च शिक्षाका लागि प्रदेश सरकारले सहयोग गरियोस् भन्दै नीति तथा कार्यक्रममा यी विषयहरु थप गर्न आग्रह गरिन् ।
नेतृ सिग्देलले राजमार्गमा स्थानीयस्तरको सौचालय निर्माणका लागि प्रदेश सरकारले अगाडि बढाउनु पर्नेमा जोड दिइन् ।
साथै उनले प्रदेश सरकारले विद्युतीय बस खरिदका लागि ढेण्डर आह्वान गरिसकिएको र उक्त बस चार्जिङ स्टेशनका लागि जनतालाई दिइने भएकोमा यसलाई सच्चाएर बस खरिदमा जनतालाई र चार्जिङ स्टेशन प्रदेश सरकारले बनाउने पर्ने बताइन् ।
उनले प्रदेशका १३ वटै जिल्लाको स्थानीय तहमा कोभिड–१९ खोपको व्यवस्था गर्नुपर्ने बताइन् ।
