कोभिड–१९ नियन्त्रणमा सक्रियतापूर्वक लाग्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन र निकायका अधिकारीहरुलाई कोभिड–१९ संक्रमण नियन्त्रणमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएको छ ।
शुक्रबार नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हाले लगत्तै ७७ वटै जिल्ला प्रशासन र सुरक्षा अधिकारीलाई १२ बुँदे परिपत्र जारी गर्दै कोभिड–१९ नियन्त्रणमा सक्रियतापूर्वक लाग्न र आवश्यक योजना निर्माण गरी सुरक्षा स्थितिलाई मजबुत बनाउन निर्देशन दिएका हुन् ।
मन्त्रालयले सरकारले सञ्चालन गरेका विकास आयोजना तोकिएको समयमा सम्पन्न गर्न प्रभावकारी समन्वय, सहजीकरण एवम् अनुगमन गरी विकास कार्यमा तीव्रता दिन पनि भनेको छ । यसरी काम गर्दा स्वास्थ्य सुरक्षा मापदण्डलाई भने पूर्ण कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।
परिपत्रमा हालसम्मको निषेध आदेश कार्यान्वयनको समीक्षा गर्दै जनस्वास्थ्यमा नकारात्मक असर नपारी स्वास्थ्य मापदण्ड पालनाका साथै आर्थिक गतिविधि अगाडि बढाउने सम्बन्धमा पूर्वतयारीमा जुट्न भनिएको छ ।
नागरिकको जीउधनको सुरक्षा तथा जिल्लामा भयरहित वातावरणको सिर्जना गर्न शान्ति सुरक्षामा खलल पुग्ने गरी कुनै पनि गतिविधि हुन नदिन, जिल्लामा घट्न सक्ने घटनाको सम्बन्धमा पूर्वसूचना लिई सोही अनुसार सुरक्षा योजना बनाई कार्यान्वयन गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।