बागमती प्रदेशसभा: आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने
मकवानपुर । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न आज प्रदेशसभाको बैठक बस्दैछ ।
प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्न आज दिनको ३ बजे प्रदेशसभा बैठक बस्ने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
उनका अनुसार, उक्त बैठकमा बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश सरकारको आगामी आवको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।
गत जेठ २५ गते मंगलबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठकबाट सिफारिस भएअनुसार प्रदेशप्रमुख प्रसाईलेले सरकारको तर्फबाट सो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् ।
प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रममा स्वास्थ्य, कृषि र शिक्षा क्षेत्रमा उच्च प्राथमिकतामा परेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले जानकारी दिए ।
उनका अनुसार, प्रदेशका सबै स्थानीय तहमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्तामा हेरफेर, सबै विद्यालयमा विद्यालय नर्स, एक वडा एक स्वास्थ्य केन्द्र तथा प्रदेशको १३ वटै जिल्लामा कागज उत्पादन गर्ने उद्योग स्थापना प्राथमिकतामा राखेको छ ।
