पेलेर बजेट पास गर्न खोजे सरकार ढालिन्छः नेता जम्कट्टेल

तु खबर संवाददाता
२०७८ जेष्ठ २६,बुधबार १५:३४
file photo

मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता तथा पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले पेलेर बजेट पास गर्न खोजे सरकार ढल्ने र नयाँ सरकार गठनको गृहकार्य सुरु हुने बताएका छन् ।

प्रदेश सरकारको आगामी वर्षको नीति कार्यक्रम र बजेटका बारेमा कुराकानी गर्दै नेता जम्कट्टेलले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको वर्तमान डोरमणि पौडेल नेतृत्वको सरकारले जनताको हित विपरित बजेट ल्याए सरकार ढालिने दावी गरेका हुन् ।

प्रदेशसभामा बजेटमाथि पूर्ण छलफल र सहकार्य नगरी बजेट पास गर्न खोजेमा माओवादी केन्द्र विरोधमा उत्रिने उनले बताए ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ मा प्रमुख प्रतिपक्ष दलले दिएको सुझावलाई ग्रहण गरेर जनतामुखी नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने धारण व्यक्त गरे ।

व्यवहारिक आधारमा वर्तमान प्रदेश सरकार अल्पमतमा रहेको भन्दै अंक गणित हेरेर बजेट पास गर्न खोजिए संसद्मा प्रतिपक्षको सशक्त भूमिका खेल्ने र बजेट फेल हुने उनको भनाइ छ ।

‘हामी सबैलाई थाहा छ, प्रदेश सरकार झिनो मतका कारण अंक गणितमा मात्र बहुमतमा छ, बहुमतको बल देखाएर बजेट पास गर्न खोजिए बजेट फेल गराउन हाम्रो भूमिका शसक्त हुन्छ, हामी विरोधमा उत्रिन्छौं,’ उनले भने ।

प्रदेश सरकारले आगामी वर्ष आवश्यकता र क्षमता भन्दा बाहिरका सुरुङ मार्ग, विद्युतीय बस खरिद तथा संचालन लगायतका योजनाहरुमा बजेट विनियोजन गर्न नहुने उनको भनाइ छ ।

‘सुरुङ मार्ग तत्कालको आवश्यकता र क्षमता भन्दा बाहिरको कुरा हो, उपयोगिताको हिसावले पनि सुरुङ मार्ग ठिक छैन, हेटौंडावासीका लागि पनि पयक नपर्ने भएकाले प्रदेश सरकारले सुरुङ मार्गको योजना छाड्नु पर्छ,’ नेता जम्कट्टेलले भने ।

संघीय सरकारले सुरुङ मार्ग बनाउने जिम्मा कुनै निजी कम्पनीलाई दिएको भन्दै उक्त कम्पनीको समय सीमा कायम रहँदै सरकारले यसमा हात हाल्न नहुने उनले बताए ।

प्रदेश सरकारले सुरुङ मार्ग बनाउन नै चाहेको हो भने जनताबाट निजी कम्पनीले उठाएको सेयरको रकमको जिम्मा सरकारले लिन सक्नु पर्ने र संघीय सरकारसँग सहकार्य गरी निजी कम्पनीसँगको सुरुङ मार्ग निर्माणको अनुमती खारेज गर्न सक्नुपर्ने उनको भनाइ छ । अन्यथा प्रदेशका सोझा जनतालाई भ्रम छर्न सुरुङ मार्गको सपना देखाउन नहुने उनले बताए ।

नेपालको हालको सडक पूर्वाधार विद्युतीय बस संचालनको लागि उपयुक्त नरहेको भन्दै नेता जम्कट्टेलले सडक पूर्वाधार, चार्जिङ स्टेशन लगायतका पूर्वाधार निर्माण गरेर मात्र बस खरिद प्रकृया गर्नुपर्ने बताए ।

छलफल र सहकार्य गरी प्रतिपक्षको सुझाव पनि ग्रहण गरेर समस्याको हल गर्न र जनताको हितमा प्रदेश सरकारले योजना र कार्यक्रम ल्याएर बजेट पास गर्न उनले आग्रह गरे ।

सत्ताको दम्भ देखाउन खोजिए प्रतिपक्ष पनि विरोधमा उत्रिएर बजेट पास हुन नदिने उनले बताए ।

स्रोतः रातोपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*