बागमती प्रदेशसभाको बैठक जेठ २७ गते बस्ने
मकवानपुर । बागमती प्रदेशसभाको आठौं बैठक अधिवेशन यही जेठ २७ गते बस्ने भएको छ ।
बैठक जेठ २७ गते बिहिबार दिनको ३ बजे बस्ने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
उक्त बैठकमा बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम सार्वजनिकरण गर्ने भएको प्रमुख सचिव खड्काले बताए ।
उनका अनुसार, प्रदेश प्रमुख प्रसाईले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आज बसेको मन्त्रीपरिषद् बैठकबाट सिफारिस भएअनुसार सो नीति तथा कार्यक्रम सार्वजनिकरण गर्ने भएको हो ।
प्रदेशसभाको गत जेठ १६ र १७ गते बसेको आठौं बैठकमा सरकारको बजेटको सैद्धान्तिक पक्ष र प्राथमिकताको विषयमा छलफल गरिएपछि अनिश्चितकालको लागि स्थगित भएको थियो ।
