बागमती प्रदेश सरकारले आगामी आवको लागि करीब ५४ अर्बको बजेट ल्याउने
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि करीब रु ५४ अर्बको बजेट ल्याइने भएको छ ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलका अनुसार, प्रदेशमा भौतिक पूर्वाधार निर्माण, विद्युतीय बस संचालन र पोष्टबहादुर बोगमती भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माण तथा कोभिड–१९ संक्रमण रोकथाम तिथा नयन्त्रणलाई केन्द्रविन्दुमा राखेर प्रदेश सरकारले करीब ५४ अर्बको बजेट ल्याउने भएको हो ।
मन्त्री ढुङ्गेलले प्रदेश सरकारले अघिल्लो वर्ष जस्तै यस वर्षको नीति, कार्यक्रम र बजेटमा राष्ट्रिय गौरवका आयोजनाको निर्माणका साथै शिक्षाको गुणस्तर वृद्धि र दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षातर्फ पनि जोड दिइने बताए।
उनले नीति, कार्यक्रम र बजेटको प्राथमिकतामा कोभिडबाट पीडित भई पीडा भोगेका परिवारलाई सरकारले उत्पादनतर्फ जोडेर आयआर्जनका लागि आर्थिक प्याकेज कार्यक्रम ल्याउन लागिएको जानकारी दिए ।
प्रदेशको काठमाडौं उपत्यकाका बाहेक १० वटा जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न, अस्पतालको गुणस्तरीय वृद्धिका साथै एचडियु, भेन्टिलेटर र आइसियु कक्षको स्थापना गरी उपचार सेवालाई सहजीकरण गर्न सरकारले छुट्टै कार्यदल पनि गठन गर्ने मन्त्री ढुंगेलले बताए ।
साथै उनले आगामी आवका लागि प्रस्तुत हुने बजेटले प्रदेशमा कृषि उत्पादनका साथै पशुपालनतर्फ गाई, भैँसीपालनका अतिरिक्त, खसी, बोका, कुखुरा, बङ्गुरपालनलाई उच्च प्राथमिकता दिई शहरी क्षेत्रका उपभोक्तालाई दूधजन्य पदार्थ र मासुमा आत्मनिर्भर तुल्याउने कार्यलाई जोड दिइने बताए।
मन्त्री ढुंगेलका अनुसार, प्रदेशमा आर्थिक वर्ष २०७८/०७९ का लागि सरकारले यही जेठ २६ वा २७ गतेभित्र प्रस्तुत गर्ने तयारी रहेको छ ।
