बागमती प्रदेशको दुई वटा स्थानीय तहमा उद्योग ग्राम स्थापनामा समस्या
मकवानपुर । बागमती प्रदेशको २ वटा स्थानीय तहमा उद्योग ग्राम स्थापनामा समस्या भएको छ । जग्गा प्राप्तीको विवादका कारण पहिचान भइसकेको उद्योग ग्राम स्थापनाका लागि पूर्वाधार निर्माण कार्य सुरु हुन नसक्दा प्रदेशको नुवाकोट र सिन्धुपाल्चोकको एक÷एक वटा स्थानीय तहमा उद्योग ग्राम स्थापनामा समस्या भएको हो ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका र सिन्धुलीको दूधौली नगरपालिकामा प्रदेश सरकारले उद्योग ग्राम स्थापनाको लागि आवश्यक अध्ययन र अनुसन्धान गरेर चालु आर्थिक वर्षमा पूर्वाधार निर्माणको काम सुरु गर्न बजेट विनियोजन गरेपनि कार्यान्वयन हुन सकेको छैन ।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव सिन्धु प्रसाद ढुंगानाका अनुसार, पञ्चकन्या गाउँपालिकामा उद्योग ग्राम स्थापनाका लागि छनौट भएको जग्गाको भौगोलिक अवस्था निकै कमजोर र भिरालो रहेको र पूर्वाधार निर्माण कार्य गर्नु पूर्व नै भू–संरक्षण गर्नुपर्ने अवस्था रहेकाले उद्योग ग्राम स्थापनाको काम सुरु गर्न नसकिएको हो ।
त्यस्तै, सिन्धुलीको दूधौलीमा पनि उद्योग ग्राम स्थापना गर्न तयारी गरिएको क्षेत्र सामुदायिक वनमा पर्ने, वन फडानी हुने र जमिनको बनोट भिरालो भएकाले पूर्वाधार निर्माणको काम सुरु गर्न नसकिएको सचिव ढुंगानाले बताए ।
कोरोना संक्रमणको जोखिमका कारण भौतिक रुपमा स्थलगत अवलोकनमा समस्या भएकाले पूर्वाधार निर्माणको काममा ढिलाई भएको सचिव ढुंगानाले जानकारी दिए ।
बजेटमा चालु आर्थिक वर्षमा पहिचान भएका ५ वटा र अन्य १० वटा स्थानीय तहमा अध्ययन र अवलोकन गरी उद्योग ग्राम स्थापनाको योजना तयार पारिएको थियो । उक्त योजना अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल ११ करोड रकम विनियोजन गरेको छ ।
