बागमती प्रदेशसभामा आगमी वर्षको बजेट– सिद्धान्त र प्राथमिकतामाथि छलफल

तु खबर संवाददाता
२०७८ जेष्ठ १७,सोमबार १९:४८

मकवानपुर । बागमती प्रदेशसभाको आजको वैठकमा आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बिनियोजित बिधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भनी प्रस्ताव गरेपछि छलफल सुरु भएको हो ।

मन्त्री ढुङ्गेलले प्रदेशका जनताको हितमा पूर्ण जिम्मेवार रही कोभिड संक्रमणको रोकथाम र उपचारका लागि उच्च प्राथमिकता दिएको जानकारी दिए । त्यसका लागि अस्पतालको स्तरउन्नति गर्ने र आवश्यक स्रोत परिचालन गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

सरकारले ल्याउने बजेट प्रचारमूखी नभई परिणाममूखी हुने मन्त्री ढुङ्गेलको भनाइ थियो । कोभिडको खोप उपलब्ध गराउने, प्रत्येक अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने, अस्पतालमा दक्ष चिकित्सक, स्वास्थ्यकर्मी र यन्त्र उपकरण उपलब्ध गराउनेतर्फ थप बजेट विनियोजन गर्ने योजना आगामी वर्षको बजेटमा समेटिने मन्त्री ढुङ्गेलले |
बताए ।

मन्त्री ढुङ्गेलले प्रस्तुत गरेको बजेटको सैद्धान्तिक पक्षमा २२ र प्राथमिकता ६६ वुँदामा समेटिएको छ ।

आजको छलफलमा सत्तापक्षका प्रदेशसभा सदस्यहरु नारायणबहादुर सिलवाल, अष्टलक्ष्मी शाक्य, रत्नप्रसाद ढकाललगायतकाले धारणा राखेका थिए ।

छलफलमा पूर्वमन्त्री तथा प्रतिपक्षका साँसद युवराज दुलाल, नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, काँग्रेस प्रमुख सचेतक राधा घलेलगायतकाले पनि आआफ्ना धारणा राखेका थिए ।

त्यसैगरी, सो बैठकमा प्रदेशसभा सदस्यहरु रमेश पौड्याल, रचना खड्का, विशाल खड्का, रिना गुरुङ, नरोक्तम वैद्य, जगत बहादुर सिम्खडा, सुरेन्द्रराज गोरसाई, सृजना सैन्जु, गीता वाग्ले, निमा लामा, सन्तबहादुर प्रजा, शोभा शाक्यले बजेटका सिद्धान्त र प्राथमिकताको विषयमा छलफलमा भाग लिएका थिए ।

प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*