प्रतिगामी प्रवृत्ति विरुद्ध एकजुट भई संघर्षमा उत्रन प्रचण्डको आव्हान
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरुलाई एकजुट भई प्रतिगामी प्रवृत्ति विरुद्ध संघर्षमा उत्रन आग्रह गरेका छन् ।
गौतम बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले पुरातनवादी विचार र चेतनाका विरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरुद्ध संघर्षमा उत्रिनु परिवर्तनकामी सम्पूर्ण शक्तिका सामु आज एक मात्र विकल्प रहेको उल्लेख गरेका छन् ।
उनले सबैको अस्तित्वको सम्मान गर्दै शान्तिपूर्ण सहअस्तित्वको भावनाले नै मानव समुदायमा नयाँ र वैज्ञानिक चेतनाको अभिवृद्धि हुने तर दम्भ र अहङ्कारले मानिसमा विनाश निम्त्याउँने र ‘त्यसको ज्वलन्त उदाहरण वर्तमान राजनीतिमा भएकाले हामीले भोग्दै आएका छौँ’, प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्।
