इलास्टिकको गुलेली अर्थात एउटा सनकको कठोर निरन्तरता

एसके.निधन
२०७८ जेष्ठ ८, शनिबार २२:०४

दिउँसो सार्वजनिक भएका अप्राकृतिक र अगणितीय हिसाव किताबले शुभ संकेत फिटिक्कै दिएको थिएन । सत्ता र कुर्सी केन्द्रित दौडधुपमा संविधानको पाना च्यातेर जनभावनामा आगो सल्काउने काम नहोला भन्ने अवस्था त थिएन नै । निलम्वनमा परेकासहित प्रतिनिधि सभामा रहेका जम्मा २ सय ७१ जना सांसदको हस्ताक्षर गणना यसरी गरियो कि कुल संख्या ३ सय २  पुर्याईयो । संविधानको धारा ७६ (५) अनुसारको वैकल्पिक सरकार गठनको बस्तुनिष्ठ आधार भनेकै प्रतिनिधि सभाको कुनै सदस्यले व्यक्तिगत रुपमा बहुमत पुर्याउन सक्ने आधार पेश गर्नु हो ।

७६ (५) ले दलीय प्रतिनिधित्वको अर्थ बुझ्दैन । यसले हेर्ने र गन्ने भनेको व्यक्ति हो । यसो त बहुमत पुर्याउन सक्ने आधार पुगे नपुगेको अन्तिम व्याख्या राष्ट्रपतिमा निहित छ । तथापि प्रत्येक्ष उपस्थिति सहितको १ सय ४९ जनाको व्यक्तिगत हस्ताक्षर वैकल्पिक सरकार गठनलाई पर्याप्त आधार थियो । संख्यात्मक रुपमा बहुमतको सम्भावित आधार पुष्टि नहुने कुनै आधार थिएनन् । तर पटकपटक प्रधानमन्त्री खड्गप्रसाद ओलीको सहजतामा सहजिकरण गर्दै आएको राष्ट्रपति कार्यालय यसपटक पनि उही लयमा फर्कियो । संविधानको धारा ७६ (५) ले बिल्कुलै कल्पना नगरेको , वैकल्पिक सरकार गठनमा त्यो भन्दा अघि नै प्रयोगमा आएर असफल भैसकेको दलीय समर्थनको प्रस्ताव समेत राष्टपतिको कार्यालयले स्वीकार्यो । खड्गप्रसाद ओलीले पेश गरेको १ सय ५३ जनाको समर्थन सहितको भनिएको दलगत प्रस्तावलाई समेत सम्बोधन गर्दै राष्ट्रपतिले कानूनी परामर्शको आवश्यकता भन्ने हवाला उर्दी भयो । शेरबहादुर देउवाले संविधानत पेश गरेको स्पष्ट आधारलाई छिर्के हान्ने काम जब भयो तब केहि अनिष्टको बादल मडारियो भन्ने लागेकै
थियो ।

कोरोना कहरको डर लाग्दो रुप, उपचार र औषधिको अभाव ,घन्टौँ जसो आफन्त र शुभ चिन्तक गुमाउँदाको पिडामा गुज्रेका जनता राजनैतिक अन्यैलता ,अवैधता र नमिठो खिचडी पकाइको परिदृश्य हेर्दा हेर्दा थाकेर जब सुतेँ, बालुवाटार जुरुक्क उठेछ । शितल निवासले आफ्नो विवेक ,कानूनी परामर्श ,संविधानको मर्म र आफ्नो क्षेत्राधिकार भन्दा पनि वालुवाटारबाट आउने खड्गप्रसाद ओलीको साउतीको प्रतिक्षामा थियो क्यारे । स्वर्गीय मदन भण्डारीले नारायणहिटीतर्फ फर्किएर हुंकार गर्थे “महाराज ! नारायणहिटीबाट आँखा नझिम्काइस्योस् , हिम्मत छ भने श्रीपेच फुकालेर सडकमा आइस्योस् ।“ तर बिडम्बना ,उनै मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको लौरी टेकेर पार्टी नेतृत्वको सर्वोच्च कमाण्डर बनेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले उनै भण्डारीको हत्यालाई लिस्नो बनाएर राष्ट्रपति बन्न सफल मदन श्रीमतीसंग मध्येरातमा यसरी आँखा झिम्काई दिएछन् कि सार्वभौमसत्ता सम्पन्न जनताले आफ्नो मताधिकारको प्रयोगले निर्माण गरेको संसद विघटन भएछ ।

मध्येरातमा गरिएको संसद विघटन र मध्यावधि निर्वाचनको समाचार जब एका बिहानै सुनियो मैले मेरो जन्म गाउँ ,गुल्मी बम्घा निमुवाखार्कको मगर दाई अस्लामी सेतेलाई झल्याँस सम्झेँ । सेते दाई रमाइलो मान्छे । खुब उखान टुक्का सुनाउनुहुन्थ्यो । अहिले बुढो हुनु भएको होला । आफैँले सुनाएका कथा आफैँ सुन्दा उहाँलाई नौलो पनि लाग्ला । सेते दाई तपाइँसंग अनुमति माग्दै तपाइको कथा इलास्टिकको गुलेली यहा राखेको छु । सायद इलास्टिकको गुलेली कथा पढी सकेपछी कसैले पनि सोध्ने छैन खड्गप्रसादले किन पटकपटक संसद विघटन गरे ।

इलास्टिकको गुलेली:

एकादेशमा एउटा तोपप्रसाद भन्ने केटो चरा मार्न खप्पिस थियो ।खास गरि अरुको छानामा बसेका परेवा उसलाई मार्नै पर्थ्यो । अचानक तोपे बौलायो । गुलेली भने पछी हुरक्कै हुने तोपेले जे मा पनि गुलेली देख्न थाल्यो । उसले तानिने, तन्किने वा बाध्न मिल्ने देख्यो कि गुलेली जस्तो बनाउँथ्यो । कसैले सुकाएका पेटिकोट, कट्टु देख्नै हुन्थेन , त्यसको इजार निकाली हाल्थ्यो । नाम्लो ,दाम्लो ,डोरी काटी हाल्थ्यो । भलिवल काटेर ब्लाडर निकाल्थ्यो । केटीहरुको कपालमा लेबंति देख्यो कि तानी हाल्थ्यो ।

अति भएपछी उसलाई उपचारको लागि राची लगियो । राचिबाट ल्याए पछी पनि खासै सुधार आएन । अब झार फुक नै अन्तिम बिकल्प हो भन्ने परिवारलाई लाग्यो । उसलाई समातेर झाँक्रीको जिम्मा लगाईयो । झाँक्रीले रु पचास हजारमा निको पार्ने जिम्मा लियो । पहिलो किस्ता २० हजारसहित कालो बोको र बिरामी जिम्मा लियो । झन्डै पन्ध्र दिनको झारफुक पछी झाँक्रीले बिरामी निको भएकोले लिन आउनु भनि खवर पठायो । साथै उसले भन्यो किच्कन्याले तर्साएर यस्तो भएको रहेछ , एउटी कन्या लिएर पनि आउनु बिहे गरिदिएपछि सबै ठिक हुन्छ ।

छोरोलाई सन्चो भएकोमा परिवार खुशी भयो । कन्या केटी खोजेर छोरो लिन गए । बिहे समेत गरेर ल्याउने भएपछी जन्ती समेत गए । झाँक्रीले पुजापाठ गरिसकेपछी ढ्याग्रो ठटाउँदै भन्यो ‘हे किच्कन्या त भागि जा । मनुवाको मनमा कन्यालाई बस्न दे ‘ सम्पूर्ण झाँक्री बिधि गरेर सकीसकेपछी नजिकैको मन्दिरमा लगेर उसको बिहे पनि गरिदिए । तोपे खासै बोलेको थिएन । बेलाबेलामा दुलहीलाई तलदेखि माथिसम्म हेर्थ्यो र मुसुक्क हाथ्यो । सबैलाई लाग्यो अब ठिक छ । फर्किने बेलामा तोपेले पिसाव लाग्यो भनेर रोकियो । जन्ती अघि बढे । तोपेलाई साथ दिन रोकिएका केटाहरुले उसलाई जिस्काउन थाले ।

 तोपे दाइ आज त सुहागरात ,बेलुका के गर्ने बिचार छ ?
– बेहुलीलाई कोठामा लैजाने ।
 अनि के गर्ने ?
– चुकुल लगाउने ।
 चुकुल लगाएपछी ?
– उसलाई धोती र पेटिकोट खोल भन्छु ।
केटाहरुलाई के चाहियो र ? झन् झन् उत्साहित हुँदै सोध्न थाले,
अनि के गर्ने विचार छ त ?
– त्यसको कट्टू खोलिदिन्छु ।
बदमास केटाहरु यतिमा पनि रोकिएनन् ,बढो उत्सुक हुँदै सोधे,
 अनि ! अनि , त्यसपछि क्यार्छौ नि तोपे दाइ ?
– त्यहि कट्टुको इलास्टिक झिकेर गुलेली बनाउँछु ।

कथा सकिन्छ र कथासंगै थप भन्नु पर्ने आवश्यकता पनि सकिन्छ ।
अस्लामी सेते दाईलाई धन्यवाद ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*