मकवानपुरमा उपभोग्य वस्तुको मूल्य अस्वभाविक रुपमा वृद्धि, प्रशासन मौन

तु खबर संवाददाता
२०७८ बैशाख २८, मंगलवार १७:४७

मकवानपुर । मकवानपुरमा दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रुपमा वृद्धि भइरहेको छ ।  जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमण (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेलगत्तै जिल्लामा उपभोग्य वस्तुको मुल्य अस्वभाविक रुपमा वृद्धि भएको उपभोक्ताहरुको गुनासो छ ।

निषेधाज्ञाको अवधिमा मात्र चामल, दाल, तेल जस्ता खाद्यान्न सामग्रीको मुल्य २० देखि ४० प्रतिशतसम्म वृद्धि भएको छ ।
हेटौंडामा यसअघि १ हजार ८ सय रुपैयाँमा विक्री हुँदै आएको खाने तेलको मुल्यमा ३३.३३ प्रतिशतसम्म वृद्धि भई २ हजार ४ सय रुपैयाँमा विक्री भइरहेको छ भने चामलमा प्रतिबोरा २ सय रुपैयाँसम्म वृद्धि भएको छ ।

करिब तीन महिनाको लागि पुग्ने गरी खाद्यान्न सामग्री मौज्दात राखेर व्यवसायीहरुले अस्वाभाविक रुपमा मूल्यवृद्धि गर्दासमेत जिल्ला प्रशासन कार्यालय मकवानपुरको नजर त्यता पर्न सकेको छैन ।

अन्य जिल्लाबाट आयात हुने खाद्यान्न सामग्री ढुवानीमा कुनै अवरोध नभएको प्रशासन आफै स्वीकार गर्छ । तर, खाद्यान्न सामग्रीको मूल्यवृद्धिबारे प्रशासन नै बेखबरजस्तै देखिन्छ ।

प्रशासनले मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको संयोजकत्वमा बजार अनुगमन समिति बनाइएको छ । सो समितिले दैनिक रुपमा बजार अनुगमन गर्दै आएको छ ।

अनुगमन टोलीले बजारका थोक तथा खुद्रा विक्रेताको पसल–पसलमा पुगेर अनुगमन गर्ने गरे पनि व्यवसायीको गोदामसम्म उनीहरुको आँखा नपुगेको उपभोक्ताहरु बताउँछन् ।

अनुगमन टोलीलाई व्यवसायीले आफ्ना स–साना पसल देखाएर टार्ने गरेका छन्, तर ती व्यवसायीहरुको गोदामको विषयमा अनुगमन समितिलाई सूचनासमेत हुँदैन ।

अनुगमन समितिले खरिद तथा विक्री बिलसमेत नहेरी अनुगमन गरेको उपभोक्तावादीहरु बताउँछन् ।

त्यस्तै, प्रशासनले अनुमति विपरित व्यवसाय सञ्चालन गर्ने दुई वटा पसललाई सिल गरेको छ । प्रशासनले एक साता यता अनुमति विपरीत सञ्चालन भएको एउटा औषधि पसल र खाद्यान्न पसललाई सिल गरेको हो ।

सोही अवधिमा मापदण्ड पूरा नगरी व्यवसाय सञ्चालन गर्ने तीन वटा पसललाई जरिवाना समेत गरिएको छ ।

४२ वटा पसलको अनुगमन गर्दा मापदण्ड पूरा नगरेका, महामारीको समयमा पनि मूल्यवृद्धि गर्नेलगायतका त्रुटि गरेको भन्दै ३ वटा पसललाई कूल ७० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*