अक्सिजन सिलिण्डर फिर्ता गर्न मकवानपुर प्रशासनको निर्देशन

तु खबर संवाददाता
२०७८ बैशाख २१, मंगलवार १७:४२

मकवानपुर । मकवानपुरमा अक्सिजनको अभाव हुन नदिन उद्योग तथा विकास निर्माण कम्पनीहरुलाई तीन दिन भित्र अक्सिजन सिलिण्डर सप्लायर्ससमक्ष बुझाउन आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मंगलबार सूचना जारी गर्दै उक्त निर्देशन दिएका हुन् ।

गृह मन्त्रालयको निर्देशन अनुसार, अन्य विकास निर्माण तथा उद्योग व्यवसायमा अक्सिजन आपूर्ति र प्रयोग गर्न रोक लगाई कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै संक्रमितहरुको स्वास्थ्य उपचारमा मात्र अक्सिजनको प्रयोग गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको सूचनामा उल्लेख छ । साथै तीन दिन भित्र उद्योग तथा निर्माण व्यवसायी कम्पनीले लगेका अक्सिजन सिलिण्डरहरु सम्बन्धित सप्लायर्समा फिर्ता गर्न भनिएको छ ।

त्यसैगरी मकवानपुर प्रशासनले कोरोना संक्रमितको उपचारमा रगतको अभाव हुन नदिन नेपाल रेडक्रश सोसाइटीलगायतका संस्थालाई रगत संकलन गर्न आग्रह गरेको छ ।

त्यस्तै राष्ट्रिय जनगणना, २०७८ का सम्पूर्ण गतिविधिहरू स्थगन गरिने , राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गर्ने अभियान अर्को निर्णय नभएसम्म रोक लगाइने भएको छ ।

औद्योगिक प्रतिष्ठानहरूले उद्योगमा कार्यरत मजदूर कर्मचारीहरूलाई स्वास्थ्यका मापदण्डहरू अपनाई, उद्योग परिसरभित्रै वा निश्चित स्थानमा राख्ने तथा जिल्ला प्रशासन कार्यालय, मकवानपुरलाई जानकारी गराई निश्चित सवारी साधन र समयमा कर्मचारीलाई ल्याउने/पुर्याउने व्यवस्था मिलाएर उद्योग सञ्चालन गर्न निर्देशन दिइएको छ ।

त्यस्तै बैंक तथा वित्तिय संस्थाहरूलाई आलोपालो विधिबाट विहान १०ः०० बजेदेखि दिउसो २ः०० बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

अत्यावश्यक उपभोग्य वस्तु वक्री वितरण गर्ने व्यवसायहरु विहान ५ः०० बजेदेखि विहान ९ः०० बजेसम्म मात्र खोल्न दिने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*