मकवानपुरका ४९७ कोरोना संक्रमित कहाँ छन्, स्वास्थ्य कार्यालयको हाकिम सा’बलाई थाहा छैन
मकवानपुर । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दिनप्रतिदिन बढीरहेको छ । शनिवारसम्म मकवानपुरमा सक्रिय संक्रमितको संख्या ५२४ पुगेको छ ।
हेटौँडा अस्पतालले संचालन गरेको कोभिड वार्डको भेन्टिलेटरमा हाल २ जना र एचडियुमा १२ जना कोरोनाका संक्रमितहरु उपचाररत रहेका छन् भने हेटौँडा–६ स्थित गौरिटार रंगशालामा रहेको आइसोलेशनमा १३ जना संक्रमितहरु रहेका छन् ।
अन्य ४९७ जना संक्रमितहरु होम आइसोलेशनमा नै बस्दै आएको जनाइएको छ । तर, उनीहरुको स्वास्थ्य अवस्थाबारे जिल्ला स्वास्थ्य कार्यालयले जान्ने प्रयास गरेको छैन ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरलाई कुन स्थानीय तहको कुन वडामा कति संक्रमित छन् भन्नेसमेत थाहा छैन ।
उनीहरु सुरक्षित रुपमा होम आइसोलेशनमा बस्दै आएका छन् वा छैनन् भन्नेबारे स्वास्थ्य कार्यालय नै बेखबर छ ।
जिल्लाको समग्र स्वास्थ्यस्थितिबारे जानकार हुनुपर्ने स्वास्थ्य कार्यालयलाई कोरोनाको संक्रमित कहाँ र कुन अवस्थामा छन् भन्ने बारे थाहा छैन ।

तस्वीरःजिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रणयकुमार उपाध्याय
होम आइसोलेशनमा बसेका संक्रमितहरुको स्वास्थ अवस्थाबारे बुझ्नुको साथै रेखदेख गर्ने जिम्मेवारी स्थानीय जनप्रतिनिधि र स्वास्थ्य इकाईको भएको भन्दै जिल्ला स्वास्थ्य कार्यालय पन्छिने गरेको छ ।
यस विषयमा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्यायले संक्रमितको तथ्याङ्क आफुहरुले राख्ने गरेको भएपनि संक्रमितको स्वास्थ्य अवस्थाबारे वडास्तरमा नै रहेको स्वास्थ्य इकाइको टिमले अनुगमन गर्ने बताए ।
उनले सम्बन्धित पालिका र वडाध्यक्षसहितको टिमले संक्रमितहरुको स्वास्थ्य अवस्था र निगरानी गर्नुपर्ने बताएपनि पालिकाका जनप्रतिनिधिहरु भने आइसोलेशन, अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीहरुले संक्रमितहरुकोे निगरानी गर्नुपर्ने दावी गर्छन् ।
संक्रमितहरुको निगरानी कसले गर्ने भन्ने विषयमा अन्यौलता हुँदा होम आइसोलेशनमा रहेका विरामीहरुको स्वास्थ्य जोखिममा पर्नुको साथै संक्रमण फैलने डर समेत बढेको छ ।
