मकवानपुरको भीमफेदी बाहेक सबै स्थानीय तहमा आइसोलेशन कक्ष व्यवस्थापनको तयारी

तु खबर संवाददाता
२०७८ बैशाख १५, बुधबार ०८:४८

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाको स्थानीय तहहरुमा आइसोलेशन कक्ष व्यवस्थापनको तयारीलाई तीब्रता दिइएको जनाएको छ ।

जिसस मकवानपुरले मंगलबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाको भीमफेदी गाउँपालिका बाहेक सबै स्थानीय तहहरुमा आइसोलेशन कक्षको स्थापना तथा व्यवस्थापनको तयारीलाई तीब्रता दिइएको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले जिल्लाको ९ स्थानीय तहहरुले कोरोना संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न आइसोलेशन कक्ष निर्माणको लागि कामहरु सुरु गरिसकिएको जानकारी दिए ।

उनका अनुसार, जिल्लाको भीमफेदी गाउँपालिकामा भने आइसोलेशन कक्ष स्थापना गर्ने उपयुक्त स्थान नभएकाले आईसोलेशन बनाउन नसकिएको हो ।

जिल्लाको हेटौँडा उपमहानगरपालिकाले १ सय २० बेर्डको आइसोलेशन, बकैया गाउँपालिकाले २० बेर्ड, थाहा नगरपालिकाले २० र थप २० गरी ४०, मकवानपुरगढी गाउँपालिकाले १५, इन्द्रसरोबर गाउँपालिकाले १२, बागमती गाउँपालिकाले १०, कैलाश गाउँपालिकाले १० तथा राक्सिराङ गाउँपालिकाले २० बेर्डको आइसोलेशन कक्ष निर्माणको लागि तयारी थालिएको जिसस मकवानपुरले जनाएको छ ।

त्यस्तै, जिल्लाको विभिन्न अस्पतालको साथै स्वास्थ्य संस्थामा अक्सिजनको कमि हुन नदिनका जिसस मकवानपुरले सम्बन्धित निकायसँग समन्वय गरिरहेको पनि जिससका प्रमुख उल्लेख गरे ।

जिल्लामा कोरोना संक्रमणको दरलाई मध्येनजर गर्दै आवश्यकताका आधारमा हेटौंडा अस्पताललाई कोभिड अस्पतालको रुपमा विकास गरिने पनि उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*