बागमती प्रदेश सरकारले उच्चशिक्षा ऐन ल्याउँदै
मकवानपुर । बागमती प्रदेश सरकारले तत्कालै उच्च शिक्षा ऐन ल्याउने भएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माध्यमिक विद्यालयको नवनिर्मित भवनको हस्तान्तरण कार्यक्रममा प्रदेशसभाको अब बस्ने बैठकमा प्रदेश उच्चशिक्षा ऐन प्रस्तुत हुने बताएका हुन् ।
ऐनमा खुला विश्वविद्यालयदेखि हरेक जिल्लामा एउटा विश्वविद्यालय खोल्न सकिने प्रावधानसमेत समेटिने जनाइएको छ । “अब डेस्क, बेञ्च मात्रै होइन, कुनै पनि प्रकारका भौतिक संरचनाको कमी छैन, यस्तो अवस्थामा शिक्षाको गुणस्तर वृद्धिमा लाग्ने हो”, उनले भने ।
मुख्यमन्त्री पौडेलले हेटौंँडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत नर्स, हेल्थ असिस्टेन्ट तथा चिकित्सक उत्पादन गर्ने गरी अध्यापन प्रारम्भ हुने क्रममा रहेको बताए ।
देशको शैक्षिक आन्दोलनको शुरुआती क्षण स्मरण गर्दै भुटनदेवी माविबाट आफूसहित ९९ शिक्षक मिलेर शुरु भएको शैक्षिक आन्दोलनले आज शिक्षक सङ्गठनको रूप लिएको उनले बताए ।
