हेटौँडामा विद्युतीय बसको चार्जिङ स्टेशन निर्माणको लागि प्रदेश सरकारको १ करोड
मकवानपुर । बागमती प्रदेश यातायात संचालन तथा व्यवस्थापन बोर्ड हेटौँडाले आगामी असारको दोस्रो हप्ताभित्रै हेटौँडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङमा विद्युतीय बसको लागि चार्जिङ स्टेशन निर्माण गरिने भएको छ ।
उक्त चार्जिङ स्टेशन निर्माणको लागि बागमती प्रदेश सरकारले एक करोड रुपैयाँ रकम विनियोजित गरिसकिएको सो बोर्डका कार्यकारी निर्देशक जगदिश ढुंगानाले जानकारी दिए ।
कार्यकारी निर्देशक ढुंगानाका अनुसार, प्रदेश सरकारले प्रदेशको विभिन्न जिल्लामा विद्युतीय बस संचालनमा ल्याउने क्रममा बोलपत्र आह्वान भए अनुसार सोही अन्तराष्ट्रिय बोलमाथि आगामी २० दिनभित्र हेटौँडामा बोलपत्रमा कबुल गरेअनुसारको बस खरिद गर्न प्राविधिकसहितको निष्कर्षमा पुगिने भएको छ ।
सो बोर्डमार्फत खरिद गर्न लागिएको ३० वटा बसलाई प्रदेश सरकारको तर्फबाट रु १० करोड लगानी गरिसकिएको र आगामी फागुन मसान्तभित्रै काठमाडौं आइपुग्ने पनि उनले बताए ।
उनका अनुसार, बोर्डले खरिद गर्न लागिएको ३० वटा विद्युतीय बसमध्ये १० वटा लामो रुढको लागि र २० वटा विद्युतीय बस स्थानीय शहरहरुमा ओहोरदोहोरको लागि संचालनमा ल्याइने भएको छ ।
प्रदेशको राजधानी हेटौँडा हुँदै नारायणगढ, मुग्लिङ तथा काठमाडौं र सिन्धुलीतर्फ दैनिक लामो रुढको विद्युतीय बस संचालनमा ल्याइने र ती बसहरुको सिट क्षमता २४ वटासम्म रहने एवम् आकस्मिक उपचार सेवालाई पनि व्यवस्थापन गरिएको यातायात बोर्डका कार्यकारी निर्देशक ढुंगानाले स्पष्ट पारे ।
यसैगरी २० वटा विद्युतीय बसलाई हेटौँडा–भरतपुर, मुग्लिङ–भरतपुर, सिन्धुली र काठमाडौं उपत्यकाभित्रै केन्द्रित गरी यातायात सेवा संचालनमा ल्याउने प्रदेश यातायात संचालन तथा व्यवस्थापन बोर्डको तयारी रहेको जनाएको छ ।
