भारतमा कोरोना संक्रमितहरुको संख्या एक करोड १२ लाखभन्दा बढी
भारतमा गत २४ घण्टामा १७ हजार ९२१ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । यससँगै भारतमा कोरोना संक्रमितको कूल संख्या एक करोड १२ लाख ६२ हजारभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।
भारतमा गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमणको कारण १३३ जनाको मृत्यु भएसँगै हालसम्म एक लाख ५८ हजार ६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल भारतमा एक लाख ८८ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबीच कोभिड–१९ को सङ्क्रमण शुरु भएयता भारतमा हालसम्म एक करोड ९ लाख २० हजारभन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् ।
भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी दुई करोड ४० लाख व्यक्तिले खोप लगाइसकेका छन् ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले मंगलबारसम्म देशभर २२ करोड ३४ लाख ७९ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । –सिन्ह्वा
