मकवानपुरे बक्सिङ खेलाडी काठमाडौं प्रस्थान

तु खबर संवाददाता
२०७७ फाल्गुन १६, आईतवार १५:०३

मकवानपुर । वीर गणेशमान सिंह स्मृति बागमती प्रदेश स्तरीय बक्सिङ प्रतियोगितामा सहभागिता जनाउन मकवानपुरे बक्सिङ खेलाडी काठमाडौं प्रस्थान गरेका छन् ।

फागुन १७ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुन जिल्ला बक्सिङ संघ मकवानपुरका अध्यक्ष दीपेश जोशी, प्रशिक्षक लालबहादुर पौडेलसहित पाँच जना खेलाडी आइतबार काठमाडौं प्रस्थान गरेका हुन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व.गणेशमानको स्मृतिमा आयोजित प्रतियोगितामा अनन्त ओझाले ४९ केजी तौल समूहमा, बुद्ध तितुङले ५२ केजी तौल समूहमा, महेन्द्र राईले ५६ केजी तौल समूहमा, सुचितध्वज कार्कीले ६० केजी तौल समूह र निश्चल विष्टले ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रुपैयाँ, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको लागि हेटौंडा ५ निवासी माधवकुमार न्यौपानेले आफ्नो पिता स्वर्गीय हरिप्रसाद न्यौपानेको स्मृतिमा खेलाडी तथा प्रशिक्षकलाई २५ हजार रुपैयाँ, सानोपोखरा निवासी तथा खेलकुदप्रेमी विनोद महतले यातायात खर्च १० हजार रुपैयाँ, पूर्व कराते खेलाडी प्रकाश श्रेष्ठले खाजा खर्चको लागि ५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

खेलाडी बिदाई कार्यक्रममा प्रतियोगिताका व्यवस्थापक सुशिल घिमिरे, जिल्ला बक्सिङ संघ मकवानपुरका सदस्य रोशिक श्रेष्ठलगायत पदाधिकारीको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*