बागमती प्रदेश लिग फुटबलः मकवानपुरको डाँफे यसवा क्लबको विजय सुरु
मकवानपुर । बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा मकवानपुरको डाँफे यसवा क्लबले विजय यात्रा सुरु गरेको छ ।
नुवाकोटमा संचालन भइरहेको प्रतियोगिताको आइतबार भएको खेलमा मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताको विजेता डाँफेले काभ्रेलाई हराउँदै विजय यात्रा सुरुवात गरेको हो ।
नुवाकोटको आदर्श बहुमुखी क्याम्पसको खेलमैदान बट्टारमा भएको प्रतियोगितामा डाँफेले काभ्रेलाई ३–१ गोल अन्तरले हराएको हो ।
जिल्ला लिग विजेता क्लबहरुको सहभागिता रहेको प्रदेश लिगमा डाँफेको तर्फबाट शनिराज थोकरले २ र राजेश स्याङ्तानले १ गोल गरे भने काभ्रेको तर्फबाट राजेश थापाले एक गोल गरका थिए ।
खेलमा डाँफेका शनिराज स्याङ्तान म्यान अफ द म्याच भएका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बिहीबारबाट सुरु भएको प्रतियोगितामा डाँफे अर्को खेल काठमाडौंसँग फागुन ११ गते खेल्नेछ ।
प्रतियोगितामा बागमती प्रदेशका भक्तपुर, रसुवा, रामेछाप बाहेकका १० जिल्लाको फुटबल टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता फागुन १४ गतेसम्म संचालन हुनेछ ।
