शिक्षक र शिक्षाको उद्देश्य

सञ्जय मित्र
२०७७ माघ १८, आईतवार १२:०३

शिक्षामा सबैभन्दा अग्रणी भूमिका शिक्षकको हुन्छ । यो निशर्त चाहिँ छैन । सबै कुरा सामान्य भएमा मात्र शिक्षकको भूमिका सर्वोपरि हुन सक्छ । सबै कुरा सामान्य भन्नाले शिक्षक र विद्यार्थीको अनुपात मिलेको तथा शिक्षकले पढाउने वातावरण पनि भएको हुनु पर्छ । भवन, शैक्षिक सामग्री र विद्यार्थीको सामाजिक तथा मनोवैज्ञानिक अवस्था पनि मिलेकै हुनु पर्दछ । विद्यार्थीले पर्याप्त पढ्ने मौका पनि पाएको हुनु पर्दछ र कक्षाकोठामा विद्यार्थी पढ्न आउँदा ऊ विद्यार्थी हो र विद्यालयमा उसको पृष्ठभूमिका अन्य परिचयले त्यत्ति प्रभाव पारेको हुनु हुँदैन । विद्यार्थीलाई स्वतन्त्र छोड्नु पर्छ पढ्नका लागि र शिक्षकलाई पनि स्वतन्त्र राख्नु पर्छ शिक्षण सिकाइ क्रियाकलापका लागि ।

शिक्षक पनि अनेक थरिका रहेका छन् । अहिले पनि दैनिक दुई सय रुपैया ज्यालादारीमा काम गर्नुपर्ने शिक्षक रहेका छन् । वास्तवमा जसलाई बाल सहयोगी कार्यकर्ता भनिएको छ, तिनीहरुलाई समाजले शिक्षक नै मानेका छन् र शिक्षक हुन् पनि । गर्ने काम चाहिँ उही हो र उस्तै हो । यसै गरी विद्यालयमै पनि दैनिक डेढ हजार रुपैया पाउने शिक्षक पनि छन् । माध्यमिक तहको प्रथम श्रेणीको शिक्षकले दैनिक डेढ हजार भन्दा बढी रुपैया पाउँछन् । वास्तवमा बालबालिकालाई शिक्षाको पहिलो खुड्किलो चढ्न सिकाउने बाल सहयोगी कार्यकर्ताहरुले दैनिक दुई सय रुपैयामा काम गर्नुपर्दा मनोविज्ञान कस्तो होला ? अलिकति अनुमान लगाउन खासै गाह्रो नहोला ।

शिक्षा क्षेत्रमा राज्यको ठूलो लगानी छ । लगानीको तुलनामा शिक्षाबाट प्रतिफल आएन भन्ने जनगुनासो पनि रहेको छ र राज्य पनि सन्तुष्ट हुन सकेको छैन । धेरै हदसम्म यो सही पनि हो । यसलाई आरोप मात्र नभनौँ, यथार्थ पनि भनौँ कि शिक्षामा राज्यको लगानीको अनुपातमा प्रतिफल कमजोर रहेको छ । तर शिक्षक र विद्यार्थीको अनुपात सबैतिर एकै किसिमको रहेको छैन । सबैभन्दा पहिले हिमाल, पहाड र तराईमा गरी शिक्षक र विद्यार्थीको अनुपात तिन किसिमको राखिएको छ । यसमा पनि तराई मधेसमा विद्यार्थीको अनुपातमा शिक्षक छँदैछैनन् । सरकारले विद्यालयहरुमा विद्यार्थी बढाउने काम गरेको तर सोही अनुपातमा शिक्षक बढाउने काम नगरेको कारण शिक्षक र विद्यार्थी अनुपात झन् फरक पर्दै गएको हो ।

शिक्षामा राज्यको लगानी बढ्यो, शिक्षालाई संविधानले नागरिकको मौलिक अधिकारमा पनि परिभाषित ग¥यो । आधारभूत तहसम्मको पढाइ अनिवार्य पनि गरिदियो तर जतिखेर यी कुराहरु नीति, नियम तथा व्यवहारमा ल्याइने बनाइँदै थियो त्यत्तिखेर देशमा विद्यार्थी कति थिए तथा यी सबै लागू भएपछि विद्यार्थी संख्या कति बढ्लान् र सोही अनुपातमा शिक्षक संख्या पनि बढाइनु पर्ला भन्ने हुन सकेन । सानो कक्षामा विद्यार्थीले पढाइ छोड्ने कारण चाहिँ पहिल्याउँदा खाजा खुवाउनाले बालबालिका बिचैमा पढाइ छाड्ने क्रम कम हुन्छ भनियो र विद्यालयमा दिवा खाजा लागू भयो । यसले गर्दा विद्यालयमा विद्यार्थी संख्या ह्वात्तै बढ्न पुग्यो ।

शिक्षामा चार कुरा बढी महत्वपूर्ण मानिन्छ । पहिलो हो विद्यार्थी ल्याउने, दोस्रो विद्यार्थी टिकाउने, तेस्रो विद्यार्थीलाई सिकाउने तथा चौथो विद्यार्थीलाई बिकाउने बनाउने । अहिले लकडाउनपछि पनि सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या निकै बढेको छ । विद्यालयमा विद्यार्थी भर्ना गराउन भर्ना अभियान, घरदैलो अभियान तथा अन्य अभियानहरु चलाएर विद्यालयमा विद्यार्थी पु¥याउन वा ल्याउने वातावरण बनेपछि अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढेकै हो । विद्यार्थी संख्या बढेपछि टिकाउने वातावरण पनि बनेकै छ । दिउँसो विद्यालयमा खाजा खुवाइन थालेपछि विद्यार्थीले पढाइ छाड्ने क्रम पनि कम भएको र विद्यार्थी चाहिँ विद्यालयमा दिनभरि बस्ने क्रम पनि बढेको हो ।

अर्थात् अहिलेको अवस्थामा राम्ररी विचार गर्ने हो भने विद्यार्थीलाई विद्यालयमा टिकाउने वातावरण बनिसकेको छ ।
विद्यार्थी पढ्न आए, विद्यार्थी विद्यालय वा कक्षामा टिके पनि । दुई स्टेपमा सफलता अहिले मिलेको अवस्था छ तर सिकाउने कसरी ? अधिकांश विद्यालयमा विद्यार्थी संख्या अत्यधिक छ । नजिककै सामुदायिक विद्यालय छन् र पढ्न पाउनु विद्यार्थीको सबै किसिमको हक हो । विद्यार्थीलाई विद्यालयमा बोलाइएको पनि हो र आएको विद्यार्थीलाई सिकाउनु पनि कर्तव्य हो तर सिकाउने वातावरण बनाउन निकै कठिन हुन थालेको छ । एउटै कक्षामा दुई सयसम्म विद्यार्थी रहेको गुनासो धेरै विद्यालयबाट आउन थालेका छन् । एकै कक्षामा जब दुई सय विद्यार्थी पुग्छन् भने सोझो हिसाबमा चारवटा नभए कम्तीमा तिनवटा सेक्सन त चलाउनु पर्ने हो तर सेक्सन चलाउँदा फेरि शिक्षक चाहिन्छ । विद्यार्थी दिनदिनै आइरहेका छन् तर एकै ठाउँमा सयौँलाई राखेर शिक्षकले पढाउनु परेको छ ।

यसरी पढाउनु पर्दा शिक्षकलाई आफैँलाई सन्तुष्टि दिँदैन । वास्तवमा एउटा कक्षामा जब चालिसभन्दा बढी विद्यार्थी हुन पुग्छन् तब शिक्षकलाई आफ्नै पढाइप्रति सन्तुष्टि कम हुन थाल्दछ । कहिलेकाहीँ त पुरानो शिक्षा प्रणालीजस्तो पढाइ गर्नुपर्ने वा आफूले पढ्यो र विद्यार्थीले सुन्यो । त्यसपछि विद्यार्थीलाई पढ्न लगायो र उत्तरहरु भनिदियो गरेर पढाउन बाध्य हुनु पर्छ । यो बाध्यात्मक पढाइ हो, सिकाइ होइन । अहिले त शिक्षकले पढाउने नै होइन, वास्तवमा सिकाउने हो ।

शिक्षकको काम सिकाउने हो भन्ने कुरा थाहा हुँदाहुँदै पनि सिकाउने सत्तरी, असी वा अझ बढी विद्यार्थी भएको एउटा कक्षामा कुनै एक विषयका शिक्षकले आफ्नो घन्टीको समयमा समूहमा वा बोर्डमा सिकाइ दिने तथा साह्रै कोही सिक्न चाहने उत्सुक विद्यार्थी भएको अवस्थामा अलिअलि बताइदिने वा सिकाइ दिने वातावरण हुन्छ । वास्तवमा यति धेरै विद्यार्थी भएको कक्षामा त कतिपय विद्यार्थीले अलिअलि बोल्दा पनि धेरै हल्ला हुन पुग्दछ । यसले विद्यार्थीको सिक्ने वातावरणलाई कमजोर बनाउन पुग्दछ । हरेक विद्यार्थीमा शिक्षकले नजर राख्नै सक्दैनन् । विद्यार्थीको व्यक्तिगत पहुँचमा शिक्षक पुग्न सक्दैनन् किनभने एक दिनमा एक शिक्षकले एक घन्टीमा एक विद्यार्थीलाई एक मिनेट पनि समय दिन सकिने वातावरण हुँदैन । कम्तीमा एक विषयमा एक विद्यार्थीले एक शिक्षकबाट एक मिनेटको समय आफ्नो लागि पाउनु पर्छ ।

वास्तवमा विद्यार्थीहरु सिक्न आउँछन्, विद्यार्थीले सिक्न पनि पाउनु पर्छ । शिक्षकको चाहना पनि सिकाउने नै हुनुपर्छ र छ पनि । हजारौँबाट प्रतिस्पर्धा गरी छनौट भई आएका शिक्षकहरु कमजोर चाहिँ छैनन् । यद्यपि अझै पनि शिक्षक सेवा आयोगभन्दा बाहिरको प्रक्रियाबाट आएका केही शिक्षकहरु रहेका छन् तर यस्ता शिक्षकहरुको संख्या अब विस्तारै कम हुँदै गएको छ । अधिकांश शिक्षक विद्यार्थीलाई सिकाउन चाहने र खोज्ने प्रकृतिका भएर पनि विद्यार्थीको अत्यधिक चापले शिक्षकले सिकाउने वातावरण कमजोर भएको गुनासो छ । यसलाई कतिपय शिक्षकहरुले यसरी पनि व्याख्या गरेको पाइन्छ कि सिकाउने कुरा पनि विद्यार्थीमा विभाजित हुन पुगेको छ । जति विद्यार्थीलाई जति शिक्षकले सिकाउनु पर्ने केही कुरा हुन्छ, त्यही दैनिक क्षमता धेरै विद्यार्थीलाई सिकाउनु पर्दाको अवस्थामा विभाजित हुन पुग्छ । यही कारण धेरै विद्यार्थीमा विद्यार्थीको औसत सिकाइ उपलब्धि कमजोर भएको देखिन्छ । शिक्षकको कार्यसम्पादन कमजोर भएको होइन ।

शिक्षाको सबैभन्दा महत्वपूर्ण पाटो सिकाउने हुन्छ । जो सिक्छ ऊ बिक्तछ भन्ने सिद्धान्तले भन्दछ । बिकाउने भनेको जीवन व्यवहारमा योग्य बनाउने हो । विद्यालयमा पढ्न आएको विद्यार्थीले विद्यालयमा सिकेर उसले आफूले सिकेको क्षेत्र वा विषयमा केही गर्न सकून् । सबैले जागिर नै गर्नु पर्दछ भन्ने होइन, सबै विद्यार्थी भोलि एकै क्षेत्रका हुन्छन् भन्ने होइन । जीवनको धेरै क्षेत्रमा पसेर विद्यार्थीहरु सफल होऊन् वा जीवनको अनेक क्षेत्रमा विद्यार्थीहरुले सफलता पाऊन् भन्ने हो । सिक्ने क्षमता सबैमा हुन्छ तर सबै विद्यार्थी एकै किसिमले सिक्न सक्दछन् भन्ने चाहिँ पक्कै होइन । यहीँनेर यो देखिन आउँछ कि जब कुनै कक्षामा विद्यार्थीको संख्या सयको हाराहारीमा छन् तर कुनै शिक्षकले विद्यार्थीको क्षमताको पहिचान कसरी गर्ने ? हरेक विद्यार्थीलाई व्यक्तिगत रुपमा तिनका समस्यालाई बुझ्न तथा समाधान गर्न र नयाँ बाटो देखाउन पनि समस्या हुनु अस्वाभाविक होइन । र, विद्यार्थीले आफूमा रहेको कमजोरी नै थाहा नपाइकन आफूलाई जीवनको उत्कृष्टतातिर लैजान पनि सक्दैनन् ।

शिक्षकलाई पनि सम्मान चाहिन्छ । शिक्षकलाई गरिएको सम्मानले पनि उनलाई आफ्नो काममा उत्साह थप्ने हुन्छ । साँच्चि र इमानदार भएर कसैले बताउने हो भने अन्य कुनै पनि जागिरको तुलनामा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकप्रतिको सम्मान कस्तो छ ? अन्य सेवामा रहेका कर्मचारीहरुले केही वर्षमा आफूलाई बढुवा हुनुपर्ने भन्ठान्छन् तर शिक्षण पेसामा रहेका कैयौँले  दुई दशकसम्म पनि बढुवाको सम्मान पाउँदैनन् । जहाँको तहीँ काम गर्नुपर्ने अवस्था रहिरहन्छ । फेरि अर्को समस्या यो पनि रहेको हुन्छ कि अन्य क्षेत्रमा कुनै परिवर्तन हुँदा सबैभन्दा पहिले तालिम दिइन्छ तर शिक्षामा कोर्स वा पाठ्यक्रम परिवर्तन हुँदा पहिले लागू हुन्छ र रनभुल्लमा शिक्षकले विद्यार्थीलाई पढाउनु पर्ने हुन्छ । अहिले नै विचार गरौँ न, कक्षा एघारको कतिपय विषयको पाठ्यपुस्तक सहज उपलब्ध छैन ।

कैयौँ महिना बितिसके, न त पाठ्यपुस्तक सुलभ छ र न त पाठ्यक्रम नै । कतिपय विद्यालयले शिक्षकलाई पाठ्यक्रमसमेत उपलब्ध गराउन सकेका छैनन् । नयाँ पाठ्यक्रम लागू हुनुपूर्व नै कम्तीमा सम्बन्धित विद्यालयका सम्बन्धित विषय शिक्षकलाई तालिम दिएर पाठ्यक्रम वा सम्भव भएसम्म पाठ्यपुस्तक उपलब्ध गराउने हो भने शिक्षक पूर्व तयारी (मनोवैज्ञानिक तथा भौतिक) गरेर कक्षामा प्रवेश गर्दा सिकाइ उपलब्धि सही अर्थमा प्राप्त हुने हुन्थ्यो तर शिक्षामा पहिले कोर्स बदलिन्छ अनि अनुभवले सिक्दै सिकाउँदै गर्नुपर्ने अवस्था अहिले पनि रहेको छ ।

हरेक विद्यार्थीलाई उत्कृष्ट नागरिक बनाउन सबैभन्दा पहिले शिक्षकलाई हरेक विषयको तालिम प्राप्त बनाउनु पर्दछ, भौतिक सुविधा तथा शैक्षिक सुविधाहरु उपलब्ध गराइनु पर्छ, शिक्षक र विद्यार्थीको अनुपात पनि मिलाउनु पर्छ । शिक्षालाई व्यावहारिक बनाउन सकेसम्म बढी प्रयोगात्मक बनाउनु पर्छ । प्रयोगात्मक कक्षाका लागि आवश्यक खर्च उपलब्ध गराउनु पर्छ । अनि शिक्षकले पनि समाज र राज्यले सोचेको जस्तो प्रतिफल दिन सक्छन् । वर्तमान अवस्थामा शिक्षकले कम गरिरहेका छैनन् । कतिपयले शिक्षकको अंग्रेजी पर्यायवाची शब्द टिचरको हिज्जेलाई यताउति पारी टिचर भनेका चिटर पनि हुन् भन्ने आरोप लगाउँछन् । वास्तवमा सबै परिस्थितिलाई विचार गरेर र शिक्षकमाथि नकारात्मक दृष्टिकोण नराखेर हेर्ने हो भने शिक्षकले धेरै गरेका छन् तथा गरिरहेका छन् । यसकारण टिचर कुनै पनि अर्थमा चिटर होइनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*