मध्यमधेसको माघी : एक चर्चा

सञ्जय मित्र
२०७७ माघ २, शुक्रबार ०८:१८

आदिबासी थारू र मधेसी समुदायले माघे संक्रान्तिलाई आफ्नै किसिमले मान्ने गरेका छन् । मूलरूपमा बागमती नदीलाई बज्जी संस्कृतिको केन्द्र मान्न सकिन्छ नेपालको सन्दर्भमा । यही बाटो हुँदै वैशालीबाट लिच्छविहरू नेपाल उपत्यका प्रवेश गरेका थिए । नेपाल उपत्यकामा शासन व्यवस्था नै स्थापित गरी इतिहासको स्वर्णयुग निर्माण गरेका थिए । लिच्छविहरू भनेका बज्जी समुदाय नै हुन् ।

नेपालमा मेचीदेखि महाकालीसम्म थारूहरू छरिएर बसेका छन् । थारू जातिको आफ्नै भाषा र संस्कृति छन् तर अत्यधिक बाक्लो बस्ती भएको थारू समुदाय र पातलो बस्ती भएको थारू समुदायको जीवनचर्यामा केही भिन्नता पाइन्छ । मेचीदेखि महाकालीसम्मका थारू समुदायको जीवनशैलीमा भिन्नता आउनुमा भौगोलिक दुरी, नजिकका संस्कृतिको प्रभाव तथा निकटवर्ती भाषा र जातिको प्रभाव हो भन्नेमा द्विविधा नहोला ।

पश्चिममा माघीलाई थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी अत्यन्त विशिष्ट शैलीमा मनाइन्छ । पूर्व र मध्यमा पनि थारू समुदायले उत्तिकै हर्षोल्लासपूर्वक मनाउँदै आएका छन् तर मनाउने शैलीमा विस्तारै भिन्नता आउँदै गएको छ । अहिले शिक्षा र सञ्चारका साथै आर्थिक उन्नतिको कारणले थारू समुदायमा मनाइने माघीमा पनि आधुनिकता देखिन थालेको छ । देशभरका थारू समुदायले एकै किसिमले माघी मनाउन खोज्नु सकारात्मक पक्ष हो ।
कतिपयले माघी थारू समुदायको मात्र हो भन्ने गर्दछन् । यो सत्य होइन । माघी धेरै जाति र संस्कृतिको साझा विशेषता भएको पर्व हो । नेपालमा हिमालदेखि तराईसम्मका विभिन्न संस्कृतिमा माघको पहिलो दिनलाई विभिन्न नामले यस कारण मान्ने गरिन्छ कि यस पर्वको सम्बन्ध हिन्दू धर्मको विभिन्न पुराणसित रहेको छ । स्कन्द पुराण र सूर्य पुराणमा यस पर्वको विषयमा स्पष्ट उल्लेख भएको पाइन्छ भने यस पर्वको साझापन भनेको तिलको प्रयोग पनि हो । तिलको विषयमा आयुर्विज्ञानमा यथेष्ट चर्चा गरिएको पाइन्छ ।

देशको विभिन्न स्थानका तीर्थस्थल तथा नदीहरूमा माघ १ को सम्भव भएसम्म सूर्योदयअघि नै स्नान गर्ने चलन छ । आजदेखि माघस्नान पनि प्रारम्भ हुन्छ । दिन ठूलो हुँदै जाने र रात सानो हुँदै जाने मान्यता रहेको छ । दिन ठूलो र रात सानो हुँदै जान्छ भन्ने लोकविश्वास धार्मिक मान्यतासँगै देशका अनेक समुदायमा रहेको छ । अनेक धार्मिक मान्यताहरूका साथ बज्जी समुदायको बाहुल्य रहेको समाजमा थप एक धार्मिक संस्कृतिको विकास भएको छ ।

माघ १ का दिन गढीमाई मन्दिरहरूमा हरेक घरले पूजा गर्ने संस्कृतिको विकास भएको छ । नेपालको बारा, पर्सा र सर्लाहीका विभिन्न गाउँमा तिन दर्जनभन्दा ठाउँमा गढीमाई मन्दिरहरू रहेका छन् जहाँ दिनभर श्रद्धालु दर्शनार्थीहरूको भीडभाड लागेको छ ।

सबैभन्दा ठूलो र प्रसिद्ध मानिएको बाराको वरियारपुरस्थित गढीमाई मन्दिरमा त ठूलो मेला नै लाग्दछ आजको दिन । स्मरणीय छ – बाराको गढीमाई मन्दिरमा थारू समुदायबाटै मूल पूजारी रहने प्रचलन छ । अहिलेसम्म वरियारपुरको गढीमाई मन्दिरको मूल पूजारी रौतहटकै थारू रहँदै आएका छन् । रौतहटको फतुवाविजयपुर नगरपालिकास्थित मूल पूजारीको घरमा अहिले पनि गढीमाईको पूजा हुन्छ र सानो मन्दिर (मन्डप) रहेको छ । गढीमाई मन्दिर गाँवैपिच्छे बन्न अझै बढेको छ ।

गढीमाई मन्दिरमा खीर चढाउने चलनको पनि विकास हुन थालेको छ । किसानको घरमा नयाँ गाई वा भैंसी ब्याएको छ भने यस दिन गढीमाई मन्दिरमा खीर चढाउने चलनका साथै शिवालय तथा अन्य मन्दिरहरुमा पनि पूजाआजा गर्ने चलन छ । बज्जी समुदायले आफ्नो घरको कूलदेवतालाई तिलको लड्डुका साथै अन्य सामग्रीले पूजा गर्नुपर्ने चलन छ । थारू समुदायमा पनि कूल देवताको पूजा गर्ने चलन परम्परादेखि चल्दै आएको देखिन्छ ।

अन्य नदीहरूमा पनि स्नानको चलन रहेको छ । यसकारण बारादेखि महोत्तरीसम्मका मानिस नजिकको नदीको विभिन्न घाटमा नुहाउनका लागि पुग्छन् । यस क्षेत्रका नदीहरू गंगासित जोडिएको मानिन्छ । स्मरणीय छ – बारादेखि महोत्तरीको स्थानीय भाषालाई बज्जिका भनिन्छ र मध्यमधेसको यस क्षेत्रमा पूर्व र पश्चिमका संस्कृतिभन्दा केही विशिष्ट संस्कृति पनि रहेको छ । विशिष्टतामध्ये गढीमाई संस्कृति पनि एक हो ।

थारू र बज्जी दुवै समुदायमा दिदी–बहिनीकहाँ कोसेली पु¥याइनु आवश्यक मानिएको छ यस दिन । दिदी–बहिनीले यस दिन माइतीबाट कोही आउलान् र केही कोसेली ल्याइदेलान् भनेर पर्खेर बस्ने दिन पनि हो । कोसेलीमा मुर्ही (धानको चामलको भुजा) वा चिउरामध्ये एक वा दुवै, मिठाइ तथा अन्य सामग्री हुन्छ तर तिलको लाई (लड्डु) भने अवश्य नै हुन्छ । तिलसँगै जुनेलो, सामा तथा चिउराको विशेष लड्डु पनि हुन्छ । आफ्नो क्षमताले भ्याएसम्मको कोसेली दिने संस्कृति यसमा रहेको पाइँदैन अर्थात् दिदी–बहिनीलाई दिइने कोसेलीमा प्रदर्शनको संस्कृति खासै रहेको पाइँदैन । यसको अन्तर्यमा जसरी पनि तिलको प्रयोग गर्नुपर्छ भन्ने हो । दिदी–बहिनीलाई पनि तिल कुनै रुपमा खुवाउनुपर्छ भन्ने अन्तर्यले एकातिर तिलसेवनको अनिवार्यतालाई संकेत गरेको छ भने अर्कोतिर महिलाको सम्मान पनि बढाएको देखिन्छ । यसैले बज्जी समुदायमा माघीलाई तिलासक्रात भनिएको पाइन्छ । स्मरणीय यो पनि छ कि थारूहरूले बज्जीलाई पहिलेदेखि नै बाजी भन्दै आएका छन् ।

आदिभूमि नेपालका थारूलाई आदिबासी मानिएको छ । आदिबासी थारूको संस्कृतिमाथि अर्का आदिबासी मधेसी समुदायको पनि गहिरो प्रभाव रहेको छ । थारू संस्कृतिको प्रभाव पनि मधेसी संस्कृतिमाथि परेको छ । यसै कारण सामान्यतया मधेसीहरू थारूलाई आफ्नै संस्कृतिको मान्ने गर्दछन् तर विशिष्टतालाई सम्मान गर्दछन् । थारू र मधेसी संस्कृतिको सुन्दर सम्मिलन यस क्षेत्रका विभिन्न सांस्कृतिक धरोहररूपी पर्वहरूमा देख्न सकिन्छ ।

अध्यात्मदेखि विज्ञानसम्मको संगम बनेको सांस्कृतिक पहिचान माघीको थप मौलिकता भूगोल र समुदायमा भिन्न किसिमले मान्नु बनेको छ । माघीको परम्परा आफ्नै किसिमको रहेको देखिन्छ । अनेक नाम र पहिचानका साथ माघी झन्डै सम्पूर्ण नेपालीको साझा पर्वको रूपमा परिभाषित हुन थालेको छ । आधुनिक सञ्चार माध्यमहरूले यसका विशेषता तथा विशिष्टताहरूलाई आम नागरिकसम्म पु¥याएर यसको विस्तार गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*