बागमती प्रदेशसभाको सातौं बैठक अधिवेशन छिट्टै बोलाउन माग
मकवानपुर । बागमती प्रदेशसभाका सदस्यहरुले प्रदेशसभाको सातौं बैठक अधिवेशन छिट्टै बोलाउन माग गरेका छन् । प्रदेशसभाका सदस्य शालिकराम जम्मकट्टेलले मुख्यमन्त्री डोरमणी पौडेलविरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गरे लगतै प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई अब अविश्वासको प्रस्ताव प्रकृयामा लैजान छिट्टै प्रदेशसभाको सातौं बैठक अधिवेशन बोलाउन माग गरेका हुन् ।
अविश्वासको प्रस्तावमा प्रस्तावक शालिकराम जम्मकट्टेल, समर्थक अरुणकुमार नेपालसहितको प्रदेशसभाका सदस्यहरुले प्रदेशसभाका सभामुख श्रेष्ठलाई आजै भेटघाट गरि छिट्टै बैठक बोलाउन लिखित माग पत्र पेश गरेका थिए ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री पौडेलविरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भएलगतै संविधानको प्रकृया अनुसार बागमती प्रदेश प्रमुख विष्णुकुमार प्रसाई समक्ष छलफल गरि छिट्टै सातौं बैठक (अधिवेशन) बोलाइने बताए ।
उनले सातौं बैठक सञ्चालन गर्ने प्रकृयाको लागि अविश्वास प्रस्ताव र समर्थकहरुको टोली, प्रतिपक्षी नेपाली कांग्रेस र नेकपालगायत विभिन्न दलका प्रतिनिधीहरुलाई छिट्टै बोलाई छलफल प्रारम्भ गरिने र बैठकको मिति पनि सहमतीको आधारमा टुङ्गो लगाईने जानकारी दिए ।
