मनहरीमा आजबाट अध्यक्ष कप फुटबल हुने
मकवानपुर । मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा आज शनिबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता शुरु हुने भएको छ । मनहरीमा तीन वर्षदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता हुँदै आएको छ ।
बिहिबार खेलतालिका सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेल साविक विजेता ७ नम्बर वडा र ६ नम्बर वडाबीच हुनेछ । प्रतियोगितामा मनहरी गाउँपालिकाका ९ वडाको सहभागिता छ ।
गाउँपालिकास्तरका खेलाडी छनोट गर्ने उद्देश्यसहित प्रतियोगिता आयाजना हुँदै आएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए ।
प्रतियोगितामा गाउँपालिकाका खेलाडी मात्र सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरिने पालिका खेलकुद विकास समिति अध्यक्ष नविन सुवेदीले जानकारी दिए ।
मनहरी–७ स्थित प्रस्तावित मदनभण्डारी क्षेत्रीय रंगशालामा हुने उक्त प्रतियोगिताको विजेताले नगद ५० हजारसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् ।
उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरलाई नगदसहित पुरस्कारको व्यवस्था छ ।
