केटा केटाबिच बिहे हुने युगको प्रारम्भ भएको हो ?
सामान्य मनोविज्ञानमा मानिसका दुई लिंग हुन्छन् – स्त्रीलिंग र पुलिंग । यसलाई परम्परागत धारणामा मानिसको लिंग निर्धारणको प्राकृतिक आधार पनि भनिन्छ तर समयको विकासको क्रमसँगै यस प्रकारको धारणामा विस्तारै परिवर्तन आउन थालेको छ ।
कतिपय मानिस न महिला हुन्छ र न त पुरुष । कतिपय महिलाको रुपमा जन्मेको तर स्त्रीजन्य अंगको विकास नभएको अवस्थामा हुन्छन् भने कतिपय पुरुषको रुपमा जन्मेका तर पुरुषजन्य अंगको विकास नभएका पनि हुन्छन् । यसरी महिलामा पूर्ण महिला हुन नसकेका तथा पुरुषमा पनि पूर्ण पुरुष हुन नसकेका मानिसहरुको आफ्नै संसार हुन थालेको छ । पहिले परिचय नै लुकाइने वा परिचित गराउँदा सामाजिक प्रतिष्ठा जाने हुन्छ भन्ने सोचाइ थियो र यस प्रकारका मानिसको परिचय नै हराउँथ्यो तर समयले विस्तारै हरेक मानिसको स्वतन्त्रता र हरेक प्रकारको व्यक्तिको स्वतन्त्रताको कुरो मानव अधिकारसित जोडिएर हेरिन थालिएको छ जुन निकै स्वाभाविक पनि हो ।
सानो देश नेपालमा आफ्नै किसिमको मानसिक संरचना रहेको छ समाजमा बिहेको सम्बन्धमा । बिहे भन्नासाथ सामान्यतया युवा र युवतीबिचको बिहेलाई नै बुझ्ने वा बुझाउने गरिन्छ तर अब बिहेको यस किसिमको परम्परागत धारणामा विस्तारै परिवर्तन गर्नुपर्ने समयको आविष्कार भइसकेको छ । नेपालमा पनि अब विवाहको परिभाषाको घेरा विस्तार भएर केटा केटाबिच वा युवा युवाबिच पनि बिहे हुन सक्छ भन्ने कुरा विस्तारै समाजले स्वीकार गर्नुपर्ने भएको छ ।
नेपालमा तेस्रो लिंगीहरु छन्, समलिंगीहरु पनि छन् । तेस्रो लिंगीहरुको जीवन कस्तो छ भन्ने विषयमा सहरी समाज धेरै हदसम्म जानकार भइसकेको छ तर पनि अझै पनि धेरै जान्न बाँकी नै छ । यद्यपि नेपालमा पहिले एक जना समलिंगी र एक जना तेस्रो लिंगी (महिला)ले एकापसमा बिहे गरेका थिए । बिहे गरेको समयमा उक्त जोडीको चर्चा धेरै भएको थियो ।
अहिले दुई युवा युवाबिच नै बिहे भएको छ । नेपालमा पहिलोपटक केटा केटाबिच धार्मिक विधिअनुसार अभिभावकको सहमति र सहभागितामा दुई युवाबिच विवाह भएको हो । रामेछाप घर भई काठमाडौँ थानकोट बस्ने तामाङ युवाले झापा घर भएका खत्री युवालाई बिहेको जग्गेमा मंगलसूत्र पहि¥याएर सिन्दुर हालेरै बिहे गरेको समाचार आएको छ । बिहे गर्ने दुवै युवाले कोट पाइन्ट, चस्मा र टोपी लगाएका थिए । दुवै जना शिक्षित युवा हुन् । बेहुला बनेका तामाङ जागिरे छन् भने बेहुली बनेका खत्री मेकअप आर्टिस्ट हुन् । खत्रीलाई भाँडा माझ्ने लगायत घरायसी सबै काम गर्न आउँछ र आनन्द मानेर गर्ने गर्दछन् । दुई जनाबिच एक वर्षको प्रेम सम्बन्धपछि बिहे सम्भव भएको हो । दुवै जना करिब चार हप्ता सँगै बसेर अनि बिहे गरेका हुन् । दुवै जना केटा नै हुन् तर माथि चर्चा गरिएको जस्तो पुरुष भए पनि पूर्ण पुरुष हुन नसकेका वा फरक क्षमता भएका पुरुषहरु हुन् । परम्परागत भाषामा यस प्रकारको लैंगिकतालाई गे भन्ने गरिन्छ भने वर्तमान प्रचलित भाषामा तेस्रो लिंगी पुरुष भन्ने गरिन्छ ।
कोट र पाइन्ट लगाएर दुई युवा चाहिँ बिहेको जग्गेमा एक अर्कालाई माला पहि¥याउँदाको दृश्य नेपालको धरती र नेपालको आकाशले पहिलोपटक देख्न पाएको हो ।
हुन सक्छ यस प्रकारको बिहे हुँदो हो पहिले पनि तर यसलाई अहिलेसम्म कतैबाट आधिकारिकता दिइएको पाइएको थिएन । अब समाजको उपस्थितिमा, जग्गे बनाएर, पण्डितले ऋचा वाचन गरेर, सबै विधि पु¥याएर, आफन्तको आशीर्वाद लिएर यस प्रकारको बिहे भएको क्षणले चाहिँ बिहेको संस्कृतिमा केही नयाँपन भने अवश्य ल्याएको हो । यसलाई बिहेको क्षेत्रमा नेपाली समाज एक फड्को मारेको मान्नु पर्ने भएको छ ।
नेपालबाहिर मुख्य गरी युरोप र अमेरिकातिर यस प्रकारको बिहे हुने गरेको कुरा सुनिँदै आएको छ । महिला नै महिलालाई बिहे गर्ने, पुरुषले पनि पुरुषलाई बिहे गर्ने कुराहरु सुनिँदै आएको अवश्य हो तर नेपालको सन्दर्भमा पहिलो पटक यस प्रकारको समाचार आउँदा केही अलग किसिमको अनुभूति अवश्य भएको छ । कानुनी मान्यता हुन अझै बाँकी रहेको तर समाजले स्वीकृति दिइसकेको यस प्रकारको बिहेले विस्तारै कानुनी तथा सामाजिक दुवै मान्यता पाउला भन्ने विश्वास बिहेमा सहभागीहरुले व्यक्त गरेका थिए । अस्वाभाविक पनि मान्न मिल्दैन यसलाई ।
कोही आफ्नो जीवनको सहयात्री कसलाई बनाउने वा कस्तो व्यक्तिको साथमा जीवन बिताउने भन्ने निर्णय गर्ने अधिकार त्यही दुई व्यक्तिलाई नै हुन्छ । सामान्य लैंगिक विशेषताभन्दा फरक लैंगिक विशेषता भएका यस प्रकारका मानिसहरुले एक्लै जीवन बिताउँदा जीवन कष्टकर हुने हुन्छ नै । अझ सामान्य मानिसको जस्तो जीवनयापन गरिरहेको परिवारमा उमेर पुगेपछि फरक लैंगिक विशेषता भएको कोही व्यक्ति छन् भने केही अप्ठ्यारो अनुभव हुँदो हो र यसरी रुचि मिल्ने साथी पाएर जीवनभर साथै बस्ने भएपछि जीवन त सजिलो हुनुपर्छ ।
जीवन सजिलो र सरल त अझ त्यत्तिखेर हुन पुग्दछ जब यस प्रकारका जोडीले कुनै एक बच्चालाई आफ्नो सन्तान मानेर लालनपालन गर्दछन् । अहिले बिहे भएका युवाद्वयले यही सोचेका छन् । केही कानुनी जटिलता होला तर बिहे गरेका युवाद्वयले सन्तानको रुपमा धर्मपुत्र राख्ने योजना बनाएका छन् । यसरी धर्मपुत्र वा धर्मपुत्री राखेर आफ्नो जीवनलाई अझ सरल वा रसिलो बनाउन नसकिने होइन ।
अझै पनि ग्रामीण समाज उदार भइसकेको छैन तर सहरी समाज भने निकै उदार भइसकेको छ । गाउँघरमा यस प्रकारको बिहेलाई अझै सुन्न पनि मन पराउँदैन तर सहरमा स्वतन्त्रता तथा मानव अधिकारसित जोडेर पनि हेरिन्छ र हेरिइनु पर्दछ पनि । यौनिक तथा लैंगिक दृष्टिकोणले अल्पसंख्यक यस प्रकारका नागरिकहरुप्रति पनि समाजले सहानुभूति राख्नु परेको छ । सम्मानजनक जीवन बाँच्न पाउने आधारको पनि खोजी गरिनु आवश्यक छ ।
अबको समय वास्तवमा लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको लागि पनि उपयुक्त हुने समाज बन्ने दिशातिर अग्रसर हुनु परेको छ । केही हदसम्म यस विवाहले नयाँ किसिमको सन्देश समाजलाई दिएको हुनुपर्छ । अबको समयमा यौनिक तथा लैंगिक दृष्टिकोणले अल्पसंख्यकहरुले पनि सम्मानका साथ जीवनयापन गर्न पाउने तथा गर्वका साथ आफूलाई चिनाउने मौका पनि पाउनु परेको छ ।
