दुर्गम भेगका जनतालाई स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा दिन प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री पौडेल

तु खबर संवाददाता
२०७७ मंसिर १५, सोमबार १०:३०

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको १३ वटै जिल्लाका दुर्गम भेगका जनताहरुलाई स्वास्थ्य उपचारमा गुणस्तरीय सेवाको लागि अस्पतालको स्तरोन्नती गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मुख्यमन्त्री पौडेलले सोमबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा हेटौंडा अस्पतालमा निर्मित सघन उपचार कक्ष (आइ.सि.यु) तथा उच्च उपचार कक्ष (एच.डि.यु) को उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

उनले जनतालाई समाजवादप्रति उन्मुख गराउन स्वास्थ्य र शिक्षाको गुणस्तरीय र दक्ष जनशक्ति उत्पादनको लागि सरकारले क्रमशः शिक्षण अस्पतालहरु स्थापना गरिँदै लैजाने नीति रहेको उल्लेख गरे ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको व्यवस्थापनमै प्रदेशको भक्तपुर, नुवाकोट र सिन्धुली जिल्ला अस्पतालमा आजैदेखि आइसियु सेवा संचालनमा ल्याइएको पनि स्पष्ट पारे ।

उनले संघीय सरकारद्वारा प्रदेशमा अस्पतालको स्तरोन्नती र निर्माणको लागि गरिएको प्रयास अन्तरगत १३ जिल्लामा ५१ वटा अस्पतालहरुको पनि आज नै शिलान्यास हुने उल्लेख गर्दै संघीय सरकारले ती अस्पतालहरुको निर्माणको लागि रु ५८ अर्ब अनुदान रकम उपलब्ध गराएको पनि जानकारी दिए ।

मुख्यमन्त्री पौडेलले प्रदेशको स्थायी राजधानी हेटौंडाको जनघनत्वलाई मध्यनजर राखी मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौंडामा केही दिनभित्रै ३०० शैय्याको शिक्षण अस्पताल निर्माणको शिलान्यास गरिने कार्यक्रम रहेको पनि बताए ।

उनले प्रदेश सरकारले उक्त शिक्षण अस्पताल निर्माणको लागि रु ४५ करोड रकम बजेट विनियोजन गरिसकिएको उल्लेख गर्दै अब हेटौंडा अस्पताललाई शिक्षण अस्पतालको रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको स्पष्ट पारे ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाई, हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर प्रविन श्रेष्ठ, हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेललगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

वि.सं. २०१८ सालमा स्थापना भएको हेटौंडा अस्पतालमा पहिलो पटक आजदेखि सघन उपचार सेवा (आइसियु) र उच्च उपचार कक्ष (एचडियु) सेवा संचालनमा ल्याइएको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर प्रविन श्रेष्ठले बताए । साथै उनले आजबाट संचालनमा आएको आइसियु कक्षमा कोभिड–१९ संक्रमित बिरामीहरुको भने उपचार नहुने जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*