तु खबर: सामर्थ्य प्रदर्शन !
एकजनाले पत्रकारितालाई सामर्थ्य प्रदर्शनकै नजिक राखेर हेरेका छन् । आफ्नो पत्रकारितालाई कतिले पत्याए । पत्रकारिताप्रति विश्वास कस्तो छ, दृष्टिकोण कस्तो छ र पत्याउने आधारहरु के के रहेका छन् ? निर्वाह गर्ने सामर्थ्य राख्दछ कि नाइँ ? सञ्चार माध्यममा सामर्थ्य देखाउने तरिकाहरु प्रायः यिनै हुन् ।
सामान्य शब्दावलीमा कति पाठक वा दर्शक छन् ? लेख, समाचार, विचार आदि कति आउँछन् ? प्रतिक्रिया कति आउँछन् ? विज्ञापन कतिको प्रकाशित हुन्छ । कुनै विशेष समयमा शुभकामना दिनेहरु कति तथा कस्ता हुन्छन् ? कुनै कामले निरन्तरता पाउन सकेको छ कि ? सर्वसाधारणको चासो कतिको हुन्छ ? कति धेरै प्रभावित छन् ? समाचारको प्रभाव परेको छ कि छैन ? अनलाइन पत्रकारितामा तु खबरको इतिहास धेरै लामो छैन । र, यसको नाम प्रस्तावित हुँदादेखि नै म प्रत्यक्ष वा परोक्षरुपमा यसको नजिक छु ।
अहिलेको समयमा अनलाइन पत्रकारिताको प्रचलन विस्तार हुँदै गएको छ । यो समयको माग पनि हो । सञ्चारमा तीव्र प्रतिस्पर्धाको क्रमलाई अनलाइनले अझ विस्तार गरेको छ । छिटो हुनुपर्ने र विश्वसनीय हुनुपर्ने आम पाठकको माग हो । यसै कारण तु खबरले आफ्नो प्रतिबद्धता नै जाहेर गरेको छ – फास्ट एन्ड रिलिएबल (तीव्र र विश्सनीय) । हेटौँडामा आफ्नो कार्यालय स्थापना गरेर केही नियमित कर्मचारी राखेर यस तु खबरले सेवा दिइरहेको छ । धेरैजसो अनलाइन कुनै निश्चित कम्प्युटर वा मोबाइलबाट चलिरहेको अवस्थामा व्यवस्थित कार्यालय स्थापना गरी कर्मचारीको सहयोगसमेतबाट चलेको अनलाइन निकै कम हुनुपर्छ ।
तु खबरले वर्षेनी स्मारिका पनि प्रकाशन गर्दछ । मुख्यतः वार्षिकोत्सवको अवसर पारेर फागुन महिनामा प्रकाशन हुने स्मारिकाले आफ्नै किसिमको महत्व राख्दछ । दुई वार्षिकोत्सव पार गरेको तु खबरले प्रकाशन गरेका दुई स्मारिकालाई पनि सामर्थ्य प्रदर्शनको आधारको रुपमा प्रशंसा वा आलोचना हेटौंडामा नै पनि भएको छ । एक सञ्चारकर्मीको तुष थियो – त्यत्तिको सामर्थ्य छैन प्रदर्शन गर्न ।
स्टेट भिजन प्रा.लि.द्वारा सञ्चालित तु खबरको स्मारिका २०७६ मेरो हातमा पर्नुअघि हेटौँडामा स्थापित व्यक्तित्वबाट सामर्थ्यको सबाल आएपछि अझ खुल्दुली स्वाभाविक थियो ।
लकडाउनकै अवधिमा हात प¥यो तु खबर स्मारिकाको दोस्रो वार्षिक प्रकाशन । छपाइ, पेपर, विज्ञापन, लेख तथा शुभकामना हेर्दा साँच्चै कतै सामर्थ्य प्रदर्शन त होइन ? पुष्टिसूचक प्रश्नलाई उभ्याएको हो मेरो अगाडि तर तत्क्षण यो सामर्थ्य प्रदर्शनभन्दा बढी सक्षमताको आधार पो हो कि ? विश्वासको प्रमाण पो हो कि ? र, अझ बढी म गर्न सक्छु भन्ने भावना राख्नेले गरेर देखाएको दृश्य पो हो कि भन्ने लाग्यो ।
स्मारिकामा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभामा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, बागमती प्रदेश सभामा प्रमुख विपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ, सञ्चार रजिस्ट्रारको बागमती प्रदेश कार्यालयका साथै नेपाल पत्रकार महासंघका विभिन्न शाखाबाट शुभकामना प्रकाशन गरिएको छ ।
स्मारिकामा शिवकुमार काशी, सुदीप शिवाकोटी, रुपेश दुलाल, शुभलक्ष्मी विश्वकर्मा, बालकृष्ण अधिकारी, देवराज पन्त, बलराम पुडासैनी, अनिल भण्डारी, सञ्जय मित्र, श्यामप्रसाद खतिवडा, भानुभक्त आचार्य, जनकमान डंगोल, डोरमणि पौडेल, जीवन लामा, कैलाश धिताल, इन्द्रबहादुर बानियाँ, रमेश ढुंगेल, लीलाधर पौडेल, शालिकराम जम्कट्टेल, सिएम रिमाल तथा छवि अनित्यका विचार विभिन्न शीर्षकमा प्रस्तुत भएका छन् । विभिन्न किसिमका आकर्षक विज्ञापनले भरिएको स्मारिकाका विज्ञापनहरु पनि हेर्न लायकका छन् । ए फोर साइजको ८८ पृष्ठमा र चार पृष्ठको कभर गरी ९२ पृष्ठ सम्पूर्णतः रंगीन रहेको स्मारिका २०७७ पठनीय, दर्शनीय तथा संग्रहणीय रहेको छ भन्ने कुरामा द्विविधा रहेको छैन । यस प्रकाशनले साँच्चै अरुको मनमा मीठो ईष्र्या उत्पन्न गरेको हुनुपर्छ ।
के उसो भए प्रकाशन भनेको प्रदर्शन हो त ?
उत्तरमा फेरि प्रश्न जन्मन्छ, के उसो भए प्रकाशन भनेको प्रदर्शन हुँदै होइन त ?
किन कोही केही बोल्न खोज्दछन् ? बोल्नु भनेको पनि आफ्नो मनको भावलाई बोलीद्वारा अरुकहाँ पु¥याउनु त हो नि । कुनै पनि लेखाइ पनि यही हो । चाहे त्यो कुनै परीक्षामा कोही अब्बल हुन्छन् भने उसले अब्बलताको प्रदर्शन गरेको हो ? वा प्रतिभाको प्रकाशन हो ? कुनै साहित्यकारले केही किन सिर्जना गर्दछन् ? केही किन प्रकाशन गर्दछन् ? किन प्रतिक्रियाको अपेक्षा राख्दछन् ? अनि कोही किन कसैका समाचार, लेख रचना, विचार पढ्दछन् ? त्यो पढेर केही जानकारी प्राप्त हुन्छ र त्यो जानकारीको उपयोग वा दुरुपयोगको आशा हुुन्छ कि हुँदैन ? के अभ्यन्तरको प्रकाशको लागि पनि कोही पढ्छ्न् वा लेख्छन् ? अभ्यन्तरको प्रदर्शनलाई मनले चञ्चलता प्रदान गरेको हुँदैन र ?
सामथ्र्यको प्रदर्शन त बोली, वस्त्र, आचरण सबैमा हुन्छ ।
हरेक प्रतिस्पर्धा पनि सामथ्र्य वा हैसियत प्रदर्शन हो ?
कोही सडकमै भोकले छटपटिइरहेका हुन्छन् । जाडोले कठाङ्ग्रिएर पनि कैयाँैले वर्षेनी ज्यान मृत्युवरण गर्दछन् । कोही जाडोमा गर्मी र गर्मीका जाडो अनुभूति हुने अतिसुविधायुक्त गाडीमा बस्छन् । कोही सुरक्षा लिएर हिँड्दछन् र कोही मुर्दा जलाउने ठाउँमा पनि डर मान्दैनन् । सामथ्र्य प्रदर्शनको घेरामा कुन वा कुन कुन अथवा के के आउँछन् वा के के आउँदैनन् ?
सबै कुरालाई प्रदर्शन वा हैसियतको दृष्टिकोणले हेरिनु हुन्न, लिइनु हुन्न ।
तु खबर स्मारिकाको आफ्नै स्वाद छ । तु खबर अनलाइनको आफ्नै स्वाद छ । मलाई के लाग्दछ भने सम्पादक गिरिजा अधिकारी सामर्थ्यवान हुन्, क्षमतावान हुन् । गरिरहन्छन् र निरन्तर गरिरहन्छन् । खटिरहन्छन्, डटिरहन्छन् । सक्रियताको दृष्टान्त हुन् र बलराम पुडासैनी तु खबरका त्यस्ता सारथि हुन् जो थाक्दैनन्, निदाउँदैनन् । अनि, मीठो ईष्र्या जाग्न बाध्य हुन्छ, सम्भवतः तुष बोल्दछन् – तु खबर सामर्थ्यको प्रदर्शन हो ।
