कांग्रेस कार्यसमिति बैठक : थापा सहमहामन्त्री, पाण्डे सांसद
काठमाडौँ । फागुनमा महाधिवेशन सम्भव नदेखिँदा पनि नेताहरूबीचको अविश्वासका कारण कांग्रेसले अर्को तालिका ल्याउन सकेको छैन । सभापति शेरबहादुर देउवाको पृष्ठभूमि र पार्टी सञ्चालनका पछिल्ला गतिविधिप्रति सशंकित वरिष्ठ नेता रामचन्द्र पौडेल र उनी पक्षीय नेताहरूले महाधिवेशनको तालिका संशोधन गर्न नदिएका हुन् । नियमित समयमा नसकेर एक वर्ष थप्दासमेत महाधिवेशन गराउन नसकेको भन्दै पौडेल पक्षले सभापति देउवाको आलोचना गरिरहेको छ ।
पार्टी विधानअनुसार आगामी फागुनभित्रै महाधिवेशन गराउनुपर्छ तर संविधानले दिएको अतिरिक्त ६ महिनाको समयको लाभ लिँदै महाधिवेशनको तालिका भदौमा पुर्याउने योजना नेतृत्वले बनाएको छ । क्रियाशील सदस्यताको वितरण र नवीकरण टुंग्याउन समय लाग्ने जनाउँदै नेतृत्वले भदौमा महाधिवेशन तालिका सार्न खोजेको हो तर पौडेल पक्षले पार्टीलाई संवैधानिक संकटमा पुर्याएर आफैँ नेतृत्वमा दोहोरिन चाहेको आशंका बारम्बार प्रकट गर्दै आएपछि शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकले प्रभावित भइसकेको क्रियाशील सदस्यताको वितरण र नवीकरणको तालिकामा मात्रै संशोधन गरेको छ । अब क्रियाशील सदस्यता वितरण र नवीकरण सकेर मंसिर मसान्तभित्रमा स्थानीय तहले नामावली केन्द्रमा पठाइसक्नुपर्नेछ । यसअघि भदौ मसान्तसम्ममा केन्द्रमा पठाउने तालिका थियो ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशनका सबै तालिका प्रभावित भइसकेकाले पूर्ण तालिका नै ल्याउनुपर्ने अडान राखेका थिए । उनले महाधिवेशनलाई अन्योलमा राख्नुभन्दा जेठमा महाधिवेशन गर्ने गरी पूर्ण तालिका ल्याउनु राम्रो हुने बताएका थिए ।
वरिष्ठ नेता पौडेलले मंसिरभित्र क्रियाशील सदस्यताको सूची केन्द्रमा आइसके फागुनमै महाधिवेशन हुन सक्ने तर्क अघि सारेका थिए । फागुनको ७—१० मा नभए पनि अन्तिमतिर हुन सक्ने उनको भनाइ थियो । संस्थापनपक्षीय नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने पटक—पटक मिति सारिरहनुभन्दा भदौमा महाधिवशेन हुने गरी तालिका ल्याउन जोड दिएका थिए । सभापति देउवा सहमति भए भदौमा, नभए क्रियाशील सदस्यताको मात्रै तालिका संशोधन गरेर अन्यलाई पछि संशोधन गर्ने पक्षमा थिए ।
केन्द्रीय सदस्य गगन थापा र धनराज गुरुङले महाधिवेशनको तयारीसँगै सरकारको अकर्मण्यताविरुद्ध आन्दोलनका कार्यक्रमसमेत ल्याउन जोड दिएका थिए । दुवैले समावेदनमार्फत तत्काल संसद् अधिवेशन बोलाउने प्रक्रिया अघि बढाउनसमेत नेतृत्वलाई सुझाएका थिए ।
बैठकमा वरिष्ठ नेता पौडेलले अन्य राजनीतिक दलबाट प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई पद बाँड्दा वर्षौंदेखि संघर्ष गरेर बसेका पुराना कार्यकर्तालाई उपेक्षा गर्न नहुने भनाइ राखेका थिए । देउवाले भने कांग्रेस समुद्रजस्तो पार्टी भएकाले प्रवेश गर्ने जोकोहीलाई स्वागत गर्नुपर्ने बताएका थिए ।
पौडेल पक्षले उठाएका १६ बुँदे मागका अधिकांश विषयमा समझदारी भइनसकाले त्यसबारे अर्को बैठकमा प्रस्ताव ल्याउने तयारी भएको देउवानिकट एक सदस्यले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
