कांग्रेसमा अझै हटेन अविश्वास
काठमाडौं । महाधिवेशनको कार्यतालिकालाई लिएर कांग्रेस नेताहरूमा आशंका बल्झेको छ । सहमतिको लिखित प्रस्ताव तयार पार्न बिहीबार बसेको अनौपचारिक बैठकमा कार्यतालिकामा सहमति नजुटेपछि शुक्रबारको केन्द्रीय कार्यसमिति बैठक औपचारिकताका लागि मात्रै हुने भएको छ ।
शुक्रबार बैठकमा समसामयिक विषयमा छलफल हुनुको साथै सांसद सूर्यबहादुर केसीको निधनका कारण रिक्त समानुपातिक कोटाको सांसदमा मोहन पाण्डेलाई पठाउने निर्णय लिने सम्भावना रहेको सहमहामन्त्री प्रकाशरण महतले बताए ।
निर्वाचन आयोगमा पार्टीले बुझाएको समानुपातिक क्षेत्रको खसआर्य कोटामा केसीपछि पाण्डेको नाम थियो ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अनौपचारिक तहमा समझदारी नभई केन्द्रीय कार्यसमिति बैठकमा विवादित विषय प्रवेश नगराउन आग्रह गर्दै आएको थियो । पौडेल पक्ष क्रियाशील सदस्यताको विषयलाई मंसिरभित्र टुग्याउने गरी संशोधन गर्न तयार भए पनि अन्य तालिकामा प्रवेश गर्न चाहेको छैन । उसले मंसिरभित्र क्रियाशील सदस्यता टुंगो लागे फागुनभित्रै केन्द्रीय महाधिवेन गर्ने सकिने तर्क अघि सार्दै आएको छ ।
यसअघि भदौ मसान्तसम्ममा जिल्लाबाट क्रियाशील सदस्यताको सूची केन्द्रमा पठाउने र मंसिर मसान्तसम्ममा केन्द्रीय सभापतिले सदस्यताको सूची निर्वाचन समितिलाई बुझाउने तालिका थियो । कोरोना महामारी विस्तार भइरहेकै बेला मंसिरभित्रै क्रियाशील सदस्यता वितरण र नवीकरण सक्न असम्भव हुने भएकाले पुस मसान्तसम्मको समय स्थानीय तहलाई दिइनुपर्ने संस्थापनपक्षको धारणा छ । उसले तल्ला तहका अधिवेशन र केन्द्रीय महाधिवेशनको तालिका अहिल्यै संशोधन नगरिए पनि क्रियाशील सदस्यताका लागि पुस–माघसम्म लाग्ने तर्क गर्दै आएको छ ।
पौडेल पक्ष केन्द्रीय महाधिवेशनको तालिका सार्न नमान्नु र क्रियाशील सदस्यताको टुंगोसमेत मंसिरभित्रै गर्नुपर्छ भन्नुको पछि सभापति देउवालाई पटकपटक काम गर्न नसकेको देखाएर आलोचना गर्ने ठाउॅ बनाउन खोजिएको संस्थापनपक्षीय नेताहरूको तर्क छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने पार्टीको कार्यतालिका पूरै संशोधन गर्नुपर्ने अडानमा छन् । उनले जेठमा महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधनको प्रस्ताव ल्याउनुपर्नेमा जोड दिँदै आएका छन् । ‘अहिले केन्द्रीय महाधिवेशन र तल्ला तहका अधिवेशनको तालिका बाँकी राखेर क्रियाशील सदस्यतालाई मात्रै अघि बढाउन पनि तयार छौं, पूर्ण कार्यतालिका संशोधनका लागि पनि लचक छौं,’ सहमहामन्त्री महतले भने । तर क्रियाशील सदस्यताको वितरण र नवीकरण मंसिरभित्रै गर्न नसकिने उनले बताए । पटकपटक संशोधन गर्नेतिर लाग्ने भन्दा एकैचोटी गर्न सक्ने गरी समय दिनु उपयुक्त हुने उनको भनाइ छ ।
नेता अर्जुननरसिंह केसीले भने संस्थापनपक्षले कार्यतालिकालाई मात्रै प्राथमिकता दिन थालेपछि समस्या आएको बताए । ‘महाधिवेशनको कार्यतालिकाभन्दा अघि त्यससँग जोडिएका मुद्दालाई हल गर्न जोड दिएका छौं, यी मुद्दामा समाधान निस्किए आवश्यकता हेरेर तालिकालाई पछि संशोधन गर्न सकिन्छ । तर संस्थापन पक्षले कार्यतालिकामा मात्रै जोड दिँदा समझदारी बन्न सकेको छैन,’ केसीले भने ।
नेता केसीले अन्य राजनीतिक दलका कार्यकर्ता समायोजनका नाममा कम्तीमा १५ र २० हजार क्रियाशील सदस्यता वितरण भएको दाबी गरे । संस्थापन पक्षले भने चार हजारभन्दा बढी सदस्यता नभएको बताउँदै आएको छ । ‘कार्यकर्ता समायोजन विधानको प्रक्रिया र विधिअनुसार समायोजन हुनुपर्छ,’ केसीले भने । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
