काँग्रेस मकवानपुरले मनायो गणेशमान सिंहको १०६ औं जन्मजयन्ती
मकवानपुर । नेपाली काँग्रेस मकवानपुरले प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर, लौहपुरुष गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती मनाएको छ ।
सोमबार नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा लौहपुरुष गणेशमान सिंहको जन्मजयन्ती मनाईएको हो ।
कार्यबहाक सभापति लामिछानेले नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए ।
विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेको बताए ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो ।
काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।
जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ ।

जन्मजयन्ती कार्यक्रममा कांग्रेस मकवानपुरका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, जिल्ला सचिव आनन्द कठायत, सल्लाहकारद्वय अशोक शाक्य र भरत पराजुली, जिल्ला सदस्यहरु अमृता थापामगर, भीमसेन महत, सुनिल अधिकारी, महिला विभागकी केन्द्रीय सदस्य शर्मिला श्रेष्ठ, तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठक, महिला संघ मकवानपुरकी सचिव निलम देवकोटा, लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका उपाध्यक्ष प्रदिप कँडेल, भीमफेदी गाउँपालिकाकी महिला नेतृ गोरीमाया लामालगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
