मकवानपुरका पुराना वामनेता लामाको निधन

तु खबर संवाददाता
२०७७ कार्तिक २३, आईतवार १५:४४

मकवानपुर । मकवानपुरका पुराना कम्युनिष्ट नेता तथा नेपाली राजनीतिमा चर्चित ‘नख्खु जेल सुरुङ काण्ड’ का ‘ब्रेकर’का रुपमा पनि चिनिने पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ ।

तत्कालीन एमालेको केन्द्रीय सदस्यसमेत रहेका लामाको ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज निधन भएको हो ।

उनी दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि अस्पताल भर्ना थिए ।
विसं २०४९ मा मकवानपुर जिविसका सभापति बनेका लामा २०५६ सालमा मकवानपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

विसं २०३३ मा लामासहित सिपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, घनेन्द्र बस्नेत, धर्म घिमिरेलगायत १५ जना कम्युनिष्ट नेताहरु नख्खु जेलबाट सुरुङ खनेर भाग्न सफल भएका थिए । विसं २०६२÷६३ को जनआन्दोलनपछि पुनस्र्थापित संसद्को सदस्य रहनुभएका लामा २०६४ सालको पहिलो संविधानसभाको चुनावमा पराजित भएका थिए ।

लामा जिविस मकवानपुरका सभापति भएपछि उनकै पहलमा काठमाडौँलाई तराईसँग जोड्न मकवानपुको पहाडी क्षेत्रमा सडक निर्माण भएको हो । मदन भण्डारी मार्गका रुपमा चिनिने उक्त मार्गबाट अहिले दैनिक सयौँ सवारी आवतजावत गर्ने गर्छन् ।

उत्तरी मकवानपुरको फाखेलका स्थायी बासिन्दा लामाले तत्कालीन नेकपा माले निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*