प्रहरी संगठनले आफ्नो आचरण र व्यवहारमा परिवर्तन गरी जनतालाई दिगो शान्तिसुरक्षा प्रदान गर्न मुख्यमन्त्री पौडेलको आग्रह

तु खबर संवाददाता
२०७७ आश्विन ३०, शुक्रबार १०:१८

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरी संठनले आफ्नो आचरण र व्यवहारमा परिवर्तन गरी जनतालाई दिगो शान्तिसुरक्षा प्रदान गर्न आग्रह गरेका छन् ।

मुख्यमन्त्री पौडेलले शुक्रबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा ६५ औं प्रहरी दिवसको उपलक्ष्यमा आज हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरीलाई सो कुराको आग्रह गरेका हुन् ।

उनले जनतालाई सधै शान्तिसुरक्षाको अनुभूति गराउने र प्रदेशमा सुशासन ल्याउन सरकारले स्पष्ट कार्यदिशाका साथ अघि बढेको जानकारी दिए ।

उनले प्रहरीले आफ्नो आचरणलाई सुधार गरी कार्यसम्पादनलाई अब्बल तुल्याई विकासको पूर्वाधारलाई गतिशिल प्रदान गर्न प्रदेश सरकार क्रियाशील रहने उल्लेख गरे ।

मुख्यमन्त्री पौडेलले समाजमा बढ्दै गएको हिंसा, बलात्कार, दुव्र्यसनीलाई प्रहरी संगठनले बैज्ञानिक प्रविधिबाट नियन्त्रणको प्रयास गरिनुपर्ने र प्रहरी संगठनको उच्च मनोबाल तुल्याउन सरकारले स्रोतसाधन परिचालन गर्दै लगिने बताए ।

सो कार्यक्रममा बागमती प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआइजी) बसन्त लामाले सरकारको मार्ग निर्देशन र ऐन कानूनको मातहतमा रही प्रहरीले जनतालाई शान्तिसुरक्षा प्रदान गर्न, मौलिक हकको सम्बद्र्धन गर्ने र अपराध नियन्त्रणका लागि वैज्ञानिक प्रविधिबाट दक्ष जनशक्ति परिचालन भइरहेको र अपराध नियन्त्रणको लागि शुन्य सहनशीलता अपनाइने बताए ।

यसैगरी जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले प्रहरी संगठनले जनतालाई आफ्नै अभिभावक भनि शान्तिसुरक्षा, मानव अधिकारको सम्बद्र्धन गर्न र अपराध नियन्त्रणका लागि उनीहरुकै जनसहभागिताबाट सत्यतथ्य बाहिर ल्याउन प्रहरीको भूमिका सशक्त हुनुपर्ने बताए ।

मुख्यमन्त्री पौडेलले बागमती प्रदेश प्रहरी कार्यालयको परिसरमा स्थापित अमर प्रहरीहरुको स्मारकमा आज बिहान पुष्पगुच्छ अर्पण गरेका थिए ।

उक्त स्मारकमा प्रहरी नायब महानिरीक्षक बसन्त लामा, उच्च प्रहरी अधिकृत र अमर प्रहरीसहिदका परिवारहरुले पनि पुष्पगुच्छ अर्पण गरेका थिए ।

मुख्यमन्त्री पौडेलले बागमती प्रदेशको तर्फबाट प्रहरी प्रधान कार्यालयबाट पुरस्कृत भएका ४ जना अमर प्रहरी सहिदका परिवारलाई दोसल्ला र नगदसहित सम्मान समेत गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*