लिवियामा ७ जना भारतीय नागरिकको अपहरण

एजेन्सी
२०७७ आश्विन २३, शुक्रबार १०:२९

नयाँ दिल्ली । अफ्रिकी मुलुक लिवियाबाट भारत फर्किन लागेका सात जना भारतीय नागरिक अपहरणमा परेका छन्।

अपहरणमा पर्नेहरूमा आन्द्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका बासिन्दा भएको समाचार बिबिसी हिन्दीले प्रकाशित गरेको छ। उनीहरू सबै तेल तथा निर्माण कम्पनीमा काम गर्नेहरू रहेको बताइएको छ।

उनीहरू १४ सेप्टेम्बरमा लिवियाको अश्वेरिफ नामको स्थानबाट अपहरणमा परेको जनाइएको छ। उनीहरू भारत फर्कन लिवियाको राजधानीमा रहेको त्रिपोली विमानस्थल आउँदै गर्दा बाटोमै अपहरणमा परेका हुन्।

सन् २०१५ सेप्टेम्बरमा भारत सरकारले एक सुरक्षा निर्देशन जारी गर्दै आफ्ना नागरिकहरूलाई लिविया नजान भनेको थियो। त्यसपछि सन् २०१६ मा भारतले त्यहाँ जान आफ्ना नागरिकहरूलाई पूर्णरूपमा निषेध गरेको थियो जुन अझै कायम छ।

ट्यूनिशास्थित हाम्रो दूतावासले यस घटनाका बारेमा लगातार काम गरिरहेको छु, भारतको विदेश मन्त्रालयले जारी गरेको आफ्नो बयानमा भनेको छ, दूतावासले लिविया सरकारसँग पनि कुरा गरेको छ। यसका अलावा उनीहरूलाई सकुशल भारत फर्काउने हामीले त्यहाँ सक्रिय रहेका कयौं अन्तराष्ट्रिय संस्थाबाट सहयोग लिइरहेका छौं।

मन्त्रालयले आफूहरू अपहरित भारतीयका परिवारका सम्पर्कमा रहेको जनाउँदै उनीहरूलाई सकुशल भारत ल्याउन हरसम्भव कोशिस गर्ने जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*