हजुरबुवादेखि छिमेकीसम्म बलात्कारमा संलग्न
काठमाडौं । बलात्कारका घटनामा घरभित्रकै हाडनाता पर्ने व्यक्ति, आफन्तदेखि छिमेकी र चिनेजानेका व्यक्ति बढी संलग्न हुने गरेको पाइएको छ ।
नेपाल प्रहरीले पीडित र पीडकका नाताका आधारमा तयार गरेको तथ्यांकले हजुरबुवादेखि बुवा/झट्केलो बुवा, ससुरा, काका-मामा-ठूलोबुवा, चिनजानका व्यक्ति र छिमेकीसहित पारपाचुके भइसकेका श्रीमान् र अपरिचित व्यक्तिबाट समेत महिलाहरू असुरक्षित रहेको देखाएको हो ।
आर्थिक वर्ष २०७६–७७ को तथ्यांकअनुसार सो आर्थिक वर्षमा देशभर २ हजार ४ सय ४९ वटा घटना भएकामा चिनेजानेका व्यक्तिबाटै ९ सय १५ अर्थात् सबैभन्दा बढी बलात्कारका घटना भएको छ ।
गत आर्थिक वर्षमै घरमालिकबाट ३, केटासाथीबाट ९३, भिनाजुबाट ५, शिक्षकबाट ४५, पारपाचुके भएका श्रीमान्बाट २८, नचिनेका व्यक्तिहरूबाट ४ सय ९७ र नखुलेका व्यक्तिबाट ५ वटा घटना भएका छन्
यसैगरी, छिमेकीबाट सो आर्थिक वर्षमा ६ सय ७२ र नचिनेका व्यक्तिबाट ४ सय ९७ वटा बलात्कारका घटना भएका छन् ।
यसैगरी, हजुरबुवाबाट ६, बुवा–झट्केलो बुवाबाट ४७, ससुराबाट ८, आमा–छोराबीच ३, काका–मामा–ठूलो बुवाबाट ४१, दाजुभाइ–काका, ठूलोबुवा र मामाका छोराबाट ३२, देवर–जेठाजुबाट १३ तथा श्रीमान्बाटै २६ वटा बलात्कारका घटना भएको तथ्यांकले देखाउँछ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले आफन्तबाट बढी सुरक्षित भइने विश्वास, घरभित्रका कुरा बाहिर नजाने भन्ने मानसिकता, आर्थिक प्रलोभनलगायतका कारणबाट घटना भएको पाइएको बताए ।
‘आफन्तबाट बढी सुरक्षित भइने विश्वास, घरभित्रका कुरा बाहिर नजाने भन्ने मानसिकता, आर्थिक प्रलोभनलगायतका कारणबाट घटना भएको देखिन्छ,’ प्रहरी प्रवक्ता कडायतले भने ।
उनका अनुसार पटक पटकको आजित व्यवहार, गर्भ रहने वा रहेको अवस्था र सम्बन्धमा इगो अथवा द्वन्द्वका घटना हुँदा बलात्कार तथा जबर्जस्ती करणीका घटना बाहिर आउने गरेका छन् ।
प्रहरी तथ्यांकअनुसार गत आर्थिक वर्षमै घरमालिकबाट ३, केटासाथीबाट ९३, भिनाजुबाट ५, शिक्षकबाट ४५, पारपाचुके भएका श्रीमान्बाट २८, नचिनेका व्यक्तिहरूबाट ४ सय ९७ र नखुलेका व्यक्तिबाट ५ वटा घटना भएका छन् ।
तथ्यांकले सो आर्थिक वर्षमा सबैभन्दा बढी बलात्कारका घटना प्रदेश १ मा भएको देखाएको छ । जसअनुसार प्रदेश १ मा ५ सय ४२ घटना भएका छन् ।
यसैगरी प्रदेश २ मा ३ सय ४२, बागमती प्रदेशमा २ सय ८४, गण्डकी प्रदेशमा १ सय ७३, प्रदेश ५ मा ३ सय ९९, कर्णाली प्रदेशमा १ सय ७७, सुदूरपश्चिम प्रदेशमा २ सय ३६ र उपत्यकामा २ सय ९६ वटा घटना भएको तथ्यांक देखाउँछ । आजको राजधानी दैनिकमा समाचार छ ।
