लेबनानको राजधानीमा ठूलो विस्फोट, कैयौँको ज्यान गएको आशंका
लेबनानको राजधानी बेरुतमा मंगलबार साँझ ठूलो विस्फोट भएको छ । बेरुतको बन्दरगाह नजिक विस्फोट हुँदा धेरै भवनहरू ध्वस्त भएको र ठूलो संख्यामा मानवीय क्षति भएको अनुमान गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमले पोस्ट गरेका भिडियो फुटेजमा विस्फोटपछि ठूलो आवाज सुनिएको थियो भने भीषण धुँवाको मुस्लो देखिएको छ । एक जना साक्षीले कानै फुट्ने जस्तो गरि पहिलो विस्फोटन भएको बताए।
विस्फोटस्थलबाट १० किलोमिटर टाढा रहेका स्थानीय नागरिकले विस्फोटपछि ठूलो भूकम्पको धक्काझैं महसुस गरेको बताएका छन् । भिडियोमा विस्फोट भएको केहीबेरमा भवनहरू ध्वस्त भएको देखिएको छ । स्थानीय समाचारसंस्थाले मानिसहरू भग्नावशेषमा च्यापिएको देखाएका छन्।
सन् २००५ मा हत्या गरिएका पूर्वप्रधानमन्त्री रफिक हरिरीको मुद्दाको फैसला हुनुअघि राजधानी बेरुतमा भएको विस्फोटलाई अर्थपूर्ण रुपमा हेरिएको बीबीसीले जनाएको छ । विस्फोटमा पूर्वप्रधानमन्त्री साद हरिरीको मुख्यालयसहित दर्जनौं भवनहरू ध्वस्त भएको सीएनएनले जनाएको छ ।
अहिलेसम्म के र कसरी विस्फोट भएको हो भन्ने केही नखुलेको लेबनानी अधिकारीहरूले बताएका छन् । लेबननका स्वास्थ्यमन्त्रीले कैयन् हताहती र धेरै क्षति भएको बताएका छन्।
राष्ट्रसङ्घीय न्यायाधीकरणले हरिरिको कार बम हमलामा भएको हत्याको घटनाका चार संदिग्धको सुनुवाइपश्चात् फैसला सुनाउन लागेको थियो।
ती चारै व्यक्ति इरान समर्थित हेज्बोल्लाह समूहका सदस्य थिए । सो समूहले उक्त हत्यामा आफू जिम्मेवार नभएको बताउँदै आएको छ । फैसला शुक्रवार हुँदै थियो ।
