प्रचण्ड र वामदेवबीच भेटवार्ता, ४० मिनेट छलफल
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बावमदेव गौतमबीच आज भेटवार्ता भएको छ ।
नेकपामा विवाद चर्किरहेको बेला अध्यक्ष र उपाध्यक्षको भेटलाई चासोका साथ हेरीएको छ ।
आज विहान करिब ४० मिनेट भएको प्रचण्ड–गौतमबीचको भेटवार्तामा पार्टीमा देखिएको विवाद समाधानबारे छलफल भएको नेकपा स्रोतले जनाएको छ ।
प्रचण्ड गौतमलाई भेट्न बिहान ११ बजे भैंसेपाटी पुगेका थिए ।
भेटवार्तामा खासगरी यसअघि गौतमले राखेको ६ बुँदे प्रस्तावका विषयमा छलफल भएको उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए ।
यसअघि आइतबार र सोमबार प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका प्रचण्डले ती भेटवार्तामा पनि सहमतिको संकेत नदेखिएपछि गौतमसँग भेटेका हुन् ।
गौतमले गत साउन १३ गते नेता कार्यकर्ताको भावनाअनुसार भन्दै ६ बुँदे प्रस्ताव सार्वजनिक गरी त्यसबाटै निकास खोज्नुपर्ने जनाउँदै आएका छन् ।
