बागमती प्रदेश सभाको बैठक असार १५ गते बस्ने
मकवानपुर । बागमती प्रदेश सभाको छैठौं अधिवेशन बैठक यही असार १५ गते बस्ने भएको छ । प्रदेश सभाको बैठक असार १५ गते दिनको ३ बजे बस्ने भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरी खड्काले जानकारी दिए ।
उनको अनुसार, उक्त बैठकमा सरकारद्वारा प्रस्तुत गरिएको आगामी आव ०७७/०७८ को विनियोजित बजेटको साथै मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालय र विभिन्न मन्त्रालयहरुको विनियोजित बजेटमाथि छलफल हुनेछ ।
उनले असार १४ गते प्रदेश सभा सचिवालयमा कार्यपरामर्श समितिको बैठक बसी विनियोजित बजेटको अतिरिक्त प्रदेश सभामा सैद्धान्तिक छलफल समाप्त भएका चार वटा विधेयक पनि बैठकमा प्रस्तुत हुने बताए ।
बागमती प्रदेश सरकारले यही असार १ गते आगामी आर्थिक वर्ष २०७७÷०७८ को विनियोजित बजेट प्रस्तुत गरेको थियो । सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले प्रस्तुत गरेको आवको बजेटमाथि सामान्य छलफल भई असार ३ गते बैठक अनिशिचतकालको लागि स्थगित भएको थियो ।
