कतारमा नीजि क्षेत्रले पनि कोरोना परीक्षण गर्न पाउने
कतारमा नीजि क्षेत्रले पनि पीसिआर विधिबाट कोरोना परीक्षण गर्न पाउने भएको छ ।
कतारको स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै नीजि स्वास्थ्य क्षेत्रलाई आवश्यक मापदण्ड पूरा गरि स्वाव संकलन गरेर हमाद मेडिकल कर्पोरेशन (एचएमसी) प्रयोगशालामा पठाउन पाउने भएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ ।
कोरोना भाइरस (कोभिड–१९) महामारीको सामना गर्न र नीजि स्वास्थ्य क्षेत्र संग साझेदारीलाई अझ सुदृढ पार्न मन्त्रालयले नीजि स्वास्थ्य क्षेत्रलाई पनि स्वाव संकलनको अनुमति दिएको हो ।
कोभिड–१९ को लक्षण भएका र श्वास फेर्न समस्या भएकाहरुको, भर्ना गर्नुपर्ने बिरामी र सर्जरी गर्नुपर्ने अवस्थाका बिरामी, स्वास्थ्यकर्मी, कोरोना देखिएका बिरामी संगै घुलमिल भएकाहरु, भाइरसको नेगेटिभ सर्टिफिकेट सहित कतार बाहिर जानपर्नेहरुलाई नीजि स्वास्थ्य संस्था मार्फत कोभिड जाँच गर्न सकिने जनाइएको छ ।
सरकारले नीजि क्लिनिक तथा अस्पताललाई परीक्षण गर्दा वास्तविक शुल्कको ५० रियाल भन्दा बढी नलिन बताइएको छ । यद्यपि परीक्षण शुल्क कति लाग्ने बारे मन्त्रालयले केही खुलाएको छैन । त्यस्तै अनुमति पीसिआर परीक्षणका लागि मात्र रहेको मन्त्रालयले स्पष्ट पारेको कतारबाट प्रकाशित हुने क्यू एन खबरले जनाएको छ ।
संक्रमितको संख्या घट्दै
कतारमा कोरोना संक्रमित (कोभिड–१९) का संक्रमित घट्दै गएका छन् । कतारमा आज ८ सय ८१ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन् ।
कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आइतबार ३ हजार ९८ जनाको जाँच गर्दा ८ सय ८१ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै कतारमा संक्रमितको संख्या ८७ हजार ३ सय ६९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६८ हजार ३ सय १९ जना डिस्चार्ज भएर घर फर्किएका छन् । आइतबार मात्रै १५ सय ५६ जना संक्रमित डिस्चार्ज भएर फर्केका हुन् ।
कतारमा कोरोना भाइरस संक्रमणका कारण आइतबार चार जनाको मृत्यु भएको छ । ३७ बर्षीय, ५५ बर्षीय, ६१ बर्षीय र ६९ बर्षीय नागरिकको मृत्यु भएको हो । यो संगै कतारमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९८ पुगेको छ ।
१८ हजार ९ सय ५२ जना कोरोना संक्रमित बिरामीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार भईरहेको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा अहिलेसम्म ३ लाख २० हजार ७ सय ९२ जनाको कोरोना जाँच भएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ ।
कतारमा कोरोना संक्रमित मध्ये ११ सय २४ जनालाई अस्पतालमा राखेर उपचार भईरहेको छ ।
त्यस्तै आइसियूमा राखेर २ सय २१ जनाको उपचार भईरहेको मध्ये आइतबार ८ जना थपिएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जानकारी दिएको छ ।
संक्रमित मध्ये धेरैजसो आप्रवासी नागरिकहरु छन् । कतार सरकारले कुन देशका संक्रमित नागरिक कति रहेको छ भन्ने तथ्याङक भने सार्वजनिक गरेको छैन । कतारमा हाल ३ लाख ५१ हजार नेपालीहरु कार्यरत रहेका छन् ।
