मकवानपुरगढी गाउँपालिकामा चालु आवमा ८० प्रतिशत काम सम्पन्न

तु खबर संवाददाता
२०७७ असार ५,शुक्रबार १०:४४

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले चालु आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा पारित योजनामध्ये ८० प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।

चालु आर्थिक वर्षको मसान्तसम्ममा ९० प्रतिशत काम सम्पन्न हुने लक्ष्य अपेक्षा लिइएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले चालु आवमा सामाजिक, कृषि उत्पादन, पशुपालन, पर्यटन प्रवद्र्धन, खानेपानी, सडक पूर्वाधार, ग्रामिण विद्युतीकरण, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेख्य कामहरु भएको जानकारी दिएका छन् ।

वडा नम्वर १ र ४ मा स्वास्थ्य चौकी भवन निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए । उनका अनुसार, वडा नम्वर ३ र ६ मा पनि भवन निर्माण गरिने योजना अघि सारिएको छ ।

गाउँपालिकाले साँढे ९ करोडको लगानीमा डुम्रेकुनामा २५ शैयाको अस्पताल निर्माण गर्ने लक्ष्यका साथ काम अघि बढाएको छ ।

मकवानपुरगढी दरबार क्षेत्रलाई चर्चित पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन गाउँपालिकाले सो क्षेत्रमा पनि काम गरिरहेको छ ।

ऋखेश्वर गुफासम्म जान सहजीकरण गर्ने र गुफा क्षेत्रको स्तर उन्नति गर्ने काम भइरहेको छ । गाउँपालिकाले सामारी खोलामा बेली ब्रीजको निर्माणको काम अघि सारेको छ भने ज्यामिरेमा पक्की पुल निर्माणको काम सम्पन्न गरिसकेको छ ।

गाउँपालिकाको विभिन्न क्षेत्रमा ३ वटा पुल निर्माणाधीन अवस्थामा रहेको छ भने २ वटा पुल निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

युरिया मल विस्थापित गरेर प्राङ्गारिक मलमा कृषकहरुलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ गाउँपालिकाले काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले जानकारी दिए । खानेपानीको लागि बृहत खानेपानी योजनाको काम भइरहेको छ ।

गाउँबासीले नक्सा पास गरेर मात्रै आवास निर्माण गर्नुपर्ने योजना तय गरिएको छ । जसका कारण व्यवस्थित आवास निर्माण हुने र विकास पूर्वाधारमा सबैको पहुँच पुग्ने लक्ष्य लिइएको छ ।

यस्तो छ आगामी बजेट

गाउँपालिकाको आगामी आर्थिक वर्ष ०७७/७८ को लागि संघीय सरकारबाट वित्तिय समानीकरणमा ९ करोड ८९ लाख, राजश्व अनुदानमा ७ करोड ६४ लाख, र सशर्त अनुदानमा २० करोड ४४ लाख रुपैँँया प्राप्त हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारबाट करिब ६ करोड रुपैँया र स्थानीय स्रोतबाट ६ करोडभन्दा बढी रकम व्यवस्थापन गरी जम्मा ५१ करोड बजेट पुग्ने अनुमान गरिएको छ ।

कूल बजेटको करिब ५० प्रतिशत रकम सशर्त, तलब भक्तालगायतका क्षेत्रमा खर्च हुने र बाँकी ५० प्रतिशत रकम विकास खर्चमा प्रयोग हुने उनले बताए ।

चालु भने सबै स्रोतहरुबाट करिब ६० करोड बजेट अनुमान गरिएको भएपनि लकडाउनका कारण यो बर्ष बजेट सीमा घट्ने पुडासैनीको भनाई छ । गाउँपालिकाले आगामी आवमा चालु आवमा गर्न बाँकी रहेका कामहरुलाई निरन्तरता दिइने भएको छ ।

मूख्यतया कृषि र पशुपालनलाई थप प्रर्वद्धन गरिने, कृषि आधुनिकिकरणमा जोड दिइने र कृषिमा गाउँबासीलाई आत्मनिर्भर बनाइने लक्ष्यका साथ काम गरिने उनले बताए ।

गाउँसभाको बैठक बसेर थप जनहितका योजनाहरु तर्जूमा गरेर प्रभावकारी ढंगले काम गरिने उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*