हेटौंडा १५ का ५५ चेपाङ तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग
मकवानपुर । स्वास्थ्य क्षेत्रमा क्रियाशिल संस्था हिमाल मुटु नेपाल काठमाडौंले हेटौंडाका चेपाङ तथा विपन्न ५५ परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
मुटु नेपालले हेटौंडा–१५ का चेपाङ तथा विपन्न ५५ परिवारलाई साँढे १२ किलो चामल, तेल, दाल, नुन, हर्लिक्स, गेडागुडीलगायत ११ प्रकारका खाद्यान्न सामाग्रीहरु सहयोग गरेको हो ।
खाद्यान्न सामाग्री नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा काँग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा हस्तान्तरण गरिएको हो ।
लकडाउनबाट दैनिक ज्यालादारी गरी गुजारा गर्ने तल्लो तहका नागरिक र तिनका परिवार सबैभन्दा पीडित हुने र दैनिक हातमुख जोर्न नै कठिन हुने अवस्था सिर्जना भएकोले यस क्षेत्रका चेपाङ तथा विपन्न परिवारहरूलाई खाद्यान्न वितरण गरिएको संस्थाका अध्यक्ष अभन गौतमले बताए ।
उनले आगामी दिनहरूमा समेत स्थानीय तहसँगको सहकार्यमा सहयोगको कार्यलाई निरन्तरता दिने पनि बताए ।
संस्थाले यसअघि हेटौंडा उपमहानगरपालिकाको ६ वटा वडाहरुमा लकडाउनमा दैनिक ज्यालादारी गरी छाक टार्नुपर्ने परिवारहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको थियो ।
खाद्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस हेटौंडा उपमहानगरका सभापति आनन्दराम पराजुली, हेटौंडा १५ का वडा अध्यक्ष महारत्न लामा, संस्थाकी सचिव डा. रिया शर्मा, गौतम समाज मकवानपुरका अध्यक्ष राजु गौतमलगायतको सहभागिता रहेको थियो ।
