कोरोना परीक्षणमा सरकारको नयाँ मोडालिटीः पीसीआर परीक्षण नगर्ने, आरडिटी मात्रै गर्ने

पत्रपत्रिकाबाट
२०७७ जेष्ठ २४, शनिबार ०८:४९
file-photo

कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढ्दै गएपछि सरकारले परीक्षणको मोडालिटी नै परिवर्तन गरेको छ । अब कोरोना लक्षण नदेखिएका सर्वसाधारणको पिसिआर विधिबाट परीक्षण गरिने छैन । तर, उच्च ओहोदाका व्यक्तिको भने जोखिम नभए पनि पिसिआर विधिबाट परीक्षण गरिँदै आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको ‘नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ जारी गर्दै क्वारेन्टाइनमा बसेका व्यक्तिमा लक्षण देखिएको छैन भने पिसिआर परीक्षण नगर्ने स्पष्ट पारेको छ । आवश्यक परे जोखिममा रहेका व्यक्तिको आरडिटी परीक्षण गर्ने उल्लेख छ । आरडिटी परीक्षणलाई हालसम्म विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन ।

राज्यको स्रोतसाधनले धान्न नसक्ने देखेपछि लक्षण नभएकालाई परीक्षण नगरी घर पठाउने निर्णय भएको मन्त्रालयका एक अधिकारीले बताए । भारतबाट आएकाहरू अधिकांश संक्रमित भएको र स्थानीय सरकारले क्वारेन्टाइन व्यवस्थित बनाउन नसक्दा संक्रमण फैलिएको समयमा मन्त्रालयले परीक्षण नगर्ने निर्देशिका बनाएपछि नेपाल महामारीको थप जोखिममा पुगेको विज्ञहरूले बताएका छन् ।

निर्देशिकामा स्पष्टसँग लेखिएको छ, ‘कोरोनाको लक्षण नदेखिएकालाई अब पिसिआर विधिमार्फत कोरोना जाँच गरिँदैन ।’ अहिले क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको भने १४ दिनपछि आरडिटी परीक्षण गरिनेछ । स्रोतका अनुसार आरडिटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएमा मात्रै पिसिआर परीक्षण हुनेछ । सरकारमातहत रहेको अनुसन्धान परिषद्ले समेत हालै गरेको एक अध्ययनले उपचारमा आरडिटी परीक्षण प्रयोग गर्न नमिल्ने सुझाब दिएको थियो ।

मन्त्रालय स्रोत भन्छ, ‘आरटी–पिसिआर परीक्षण निकै महँगो विधि रहेछ, हामीलाई धान्न निकै कठिन भयो । त्यसैले अब लक्षण नभएकालाई परीक्षणमा पिसिआर विधि प्रयोग गरिनेछैन ।’ कोरोना जाँचको चार महिनामै सरकार परीक्षणबाट भाग्न खोजेको देखिएको छ । अहिलेसम्म देशभर एक लाख ६६ हजार चार सय २३ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै दुई हजार नौ सय १२ जनामा संक्रमण देखिएको छ । सबैजसो संक्रमितहरू लक्षणविहीन रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*