रसियामा लगातार चौथो दिन १० हजार बढी संक्रमित फेला

एजेन्सी
२०७७ बैशाख २५, बिहीबार ०९:२३
file photo

मस्को । रसियामा लगातार चौथो दिन १० हजार बढी कोरोना संक्रमित थपिएका छन् ।

रसियाले बुधबारमात्र १० हजार ५ सय ५९ जना नयाँ संक्रमित फेला परेको पुष्टि गरेको छ ।

योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार ९ सय २९ पुगेको छ ।

रसिया संक्रमितदर धेरै भएको दोश्रो मुलुक हो। पहिलो नम्बरमा अमेरिका छ।

यस्तै रसिया कोरोनाबाट सर्वाधिक प्रभावित देशको सातौं नम्बरमा पर्छ। संक्रमित संख्यामा रसियाले चीन, टर्की र इरान लगायतका मुलुकलाई गत साता नै उछिनेको थियो।

पछिल्लो २४ घण्टामा रसियामा कोरोनाबाट ८६ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ३७ पुगेको छ।

रसियामा आइतवारबाट प्रतिदिन लगातार १० हजारका दरले नयाँ संक्रमित थपिदै गएका छन्। पश्चिम युरोपका अन्य मुलुकले सावधानीपूर्वक जारी लकडाउन खुकुलो पारिरहँदा रसियामा भने संक्रमितदर लगातार बढ्दै गएको छ। यसले रसिया कोरोना भाइरस संक्रमणको नयाँ इपिसेन्टर बन्ने खतरा बढेको छ।

रसिया मे ११ सम्म लकडाउनमा छ। रसियाली अधिकारीले त्यसपछि अवस्था हेरेर क्षेत्रगत हिसाबले लकडाउन लम्ब्याउने वा खुकुलो पारिने निर्णय गरिने जनाएका छन्।

यसैका लागि राष्ट्रपति भ्लादमिर पुटिनले गर्न बुधबार वैठक बोलाएका छन्।

रसियामा मस्को कोरोना भाइरसको इपिसेन्टर बनेको छ। भेटिएका अधिकांश संक्रमित मस्कोबाट रहेका छन्। भेटिएका कुल संक्रमितमध्ये ८५ हजार बढी मस्कोबाट रहेका छन्। त्यहाँ भाइरसका कारण ८ सय ६६ जनाको मृत्यु भइसकेको छ।

संक्रमित संख्या बढिरहेको भएपनि अन्य मुलुकको तुलनामा रसियामा ज्यान गुमाउनेको संख्या भने कम देखिएको छ।

यसका लागि रसियाली सरकारी अधिकारीले सरकारको छिटो सीमा बन्द गर्ने निर्णय, व्यापक परीक्षण र संक्रमितको ट्र्याकिङलाई श्रेय दिएका छन्।

तर, आलोचकहरूले भने सरकारको यस तथ्यांकमा आशंका व्यक्त गर्दै आइरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*